प्रमुख प्रतिपक्षसहित तीन दलको बैठक, संविधान संशोधनबारे छलफल
नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक भएको छ । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एनेकपा माओवादीका नेताबीच बैठक चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली गत असोज २४ गते निर्वाचित भएपछि प्रमुख प्रतिपक्षी काँग्रेससहितका नेताको यो पहिलो संयुक्त बैठक हो । बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र कानुनमन्त्री अग्नि खरेल, काँगे्रसका सभापति सुशील कोइराला, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रस उपसभापति रामचन्द्र पौडेल सहभागी हुनुहुन्छ । नयाँ संविधानमा मधेस केन्द्रित दलका माग सम्बोधनका लागि संविधान संशोधनजस्ता विषयमा राजनीतिक सहमति भएमा दुई तिहाइ मत चाहिने र त्यसका लागि प्रमुख तीन दलको सहमति अत्यावश्यक हुने भएकाले सो छलफल भएको ठानिएको छ ।