एनआरएन भिक्टोरियाले विद्यार्थीको लगत संकलन गर्ने


keshav kandelएनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले भिक्टोरिया राज्यमा रहेका विद्यार्थीहरुलाई समेट्नका लागि विशेष कार्यदल बनाएको छ । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया राज्य समिति संयोजक केशव कंडेलको संयोजकत्वमा स्टुडेन्ट टास्कफोर्स निर्माण गरेर यो अभियान सुरु गरिएको हो । एमएनटीभीसँग कुरा गर्दै कँडेलले दुई साताभित्र भिक्टोरियाभर रहेका नेपाली विद्यार्थीहरुको संख्या संकलन गरिनेछ । यसपछि उनीहरुका निम्ति एनआरएनले विविध कार्यक्रम ल्याउनेछ । नेपालमा एनआरएन दर्ता भएपछि सरकारले तोकेको मापदण्डभित्र विद्यार्थीहरुलाई सदस्य बनाउन नपाउने भएपछि उनीहरुलाई समेट्नका लागि यस्तो प्रयास गरिएको हो । “अहिले विद्यार्थीहरुसँग हामीले अन्तरक्रिया गरिरहेका छौं । विद्यार्थीका लागि एनआरएनले के गरोस् भन्ने उनीहरु चाहन्छन् भनेर हामीले जिज्ञासा राखेका छौं । साथै उनीहरुको संख्या पनि संकलन गरिरहेका छौं । निकट भविष्यमा नै हामी एउटा डाटाबेस तयार पर्छौं जसले नेपाली विद्यार्थीको यकिन संख्या थाहा लाग्नेछ । साथै उनीहरुका निम्ति गरिने विभिन्न कल्याणकारी कार्यक्रमको योजना बनाउन पनि सजिलो हुनेछ”, संयोजक कँडेलले एमएनटीभीसँग भने । उनका अनुसार विद्यार्थीहरुलाई एशोसिएट सदस्यता दिने तयारी छ । यस्तै विद्यार्थीहरुका विभिन्न समस्याहरुको समाधान गर्नका निम्ति स्टुडेन्ट अनलाईन फोरम पनि सञ्चालन गरिनेछ । जहाँ विद्यार्थीले आफ्ना समस्या राख्नसक्ने र विज्ञहरुले त्यसको जवाफ दिने उनले जानकारी गराए । जसका लागि आईटी विज्ञ गणेश गौतम काम गरिरहेका छन् । यससँगै वार्षिक रुपमा ईमर्जिंग एक्सीलेन्स एवार्ड पनि आयोजना गर्ने तयारी एनआरएन भिक्टोरियाले गरेको छ । एनआरएनभित्र तिव्र राजनीति भएको र ठूलो संख्यामा रहेका विद्यार्थीहरुको समस्यामा कुनै चासो नराखेको भन्दै यसअघि विविध आलोचना हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?