विद्रोहीले बमद्वारा रसियाली यात्रुवाहक विमान खसालेको बेलायती आशंका
गत शनिबार इजिप्टको सिनाई टापुमा दुर्घटना भएको रसियाली विमानमा इस्लामिक स्टेट (आइएस) लडाकूले बमद्वारा विमान खसालेको हुनुपर्ने संयुक्त राज्य अमेरिका र बेलायतले बताएको छ । शनिबार इजिप्टको सराम अल सेख विमानस्थलबाट रसियाको सेन्ट पिटसबर्गका लागि उडेको सो विमान चालक दलका सात सदस्यसहित २२४ जना लिएर रसिया जाँदै गरेको र विमान उडेको २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । विमान दुर्घटनामा ती सवार सबैको निधन भएको थियो ।
रसियाली विमान सेवा कोगालिमावियाको ए३२१ नम्बरको सो एयरबस स्थानीय समयअनुसार गत शनिबार बिहान ५.५१ बजे उडेको थियो । आतङ्ककारी समूह आइएसले नै सो विमान बमद्वारा खसालेको उच्च सम्भावना रहेको अमेरिकी एक अधिकारीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । त्यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा सो विमानलाई विस्फोटक पदार्थको सहयोगबाट विस्फोट गराइएको सुचनाहरु प्रकाशमा आएको हुनाले यस विषयलाई लिएर बढी चिन्तित भएको बताइएको छ । इजिप्टेलि राष्ट्रपति अब्देल फताह अल–सिसी र प्रधानमन्त्री क्यामरुनबीच बेलायतमा बिहीबार भएको भेटवार्तापछि सो चिन्ता व्यक्त गरिएको हो । इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थगरी सेनाआवद्ध सिसी इजिप्टको राष्ट्रपति हुनु भएपछि उहाँको बेलायत भ्रमण यो पहिलो हो । यसअघि रसिया र इजिप्टका अधिकारीहरूले यस विमान दुर्घटनामा आइएसको हात रहेको अस्विकार गर्दै आएका थिए । विमान दुर्घटनामा कुनै समूहको हात नभै यो विमानमा एक्कासी देखिएको प्राविधिक गढबढीका कारण भएको बताउँदै आएका थिए । सिरिया, इराक र इजिप्टमा पनि आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएका आइएस समूहले सो जहाज दुर्घटना गराउनमा आफ्नो हात रहेको गत शनिबारनै दावी गरेका थिए । आइएस समूहले विमान आफ्नो योजनाअनुसार दुर्घटना गराएको र यसमा कोही जीवित नरहेकोे ट्वीट गरी जनाएका थिए ।