मधेस आन्दोलन र नाकाबन्दीलाई एउटै बास्केटमा हालेर नहेरौं : भट्टराई
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई जोडेर हेर्न नहुने बताउनुभएको छ । दर्शन मिडिया प्रालि भरतपुरले नारायणगढमा आयोजना गरेको ‘नेपालमा नयाँ शक्ति किन ?’ भन्ने विषयमा आयोजित अन्तरसंवादलाई सम्बोधन गर्दै उहाँले तराईका बासिन्दा र पहाडीयाका बीचमा भावनात्मक सम्बन्ध टुट्दै गएको बताउनुभयो । तराईवासीको माग संविधानमा सम्बोधन हुन नदिइएको जिकिर गर्दै उहाँले भन्नुभयो “उनीहरुको आन्दोलन साउन अन्तिम सातादेखि भएको हो भने नाकाबन्दी असोजदेखि भएको हो ।” मधेस आन्दोलन र भारतीय नाकाबन्दी सँगसँगै नयाँ शक्तिको कुरा आउँदा टिकाटिप्पणी निकै हुने गरेको भन्दै भट्टराईले यी कुनै कारण नभई संविधान जारी भएसँगै नयाँ शक्तिको उदय आवश्यक भएकोले यसको जन्म हुन लागेको बताउनुभयो । संविधान जारी भएपछि अन्य घटनाक्रम अघि बढ्दा नयाँ शक्तिका कुरालाई विभिन्न ढङ्गले हेर्ने गरिएको भएपनि यी सबै चितुवा कराउनु र बाख्रो हराउनु भने जस्तै संयोग मात्रै भएको बताउनुभयो ।
भारतले सुगौली सन्धियता प्रभुत्व जमाउँदै आएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली बजारमाथि प्रभुत्व जमाउने मनसायले नाकाबन्दी गरिएको बताउनुभयो । नेता भट्टराईले आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्तिको जन्म हुन लागेको बताउँदै पुरानो राज्यसत्ता अन्त्यका लागि भूमिगत र अन्य खालको आन्दोलनको जरुरत हुने भएपनि अब यी सबै आन्दोलन छाडेर समृद्धिका लागि लाग्नुपर्ने बेला आएको बताउनुभयो ।