एनआरएन न्यूसाउथवेल्सको परोपकारी देउसी अभियान
तिहार हामीमाझबाट बिदा भइसकेको छ । यमपञ्चकको पाँच दिन हामी विभिन्न पूजा गर्दछौं । साथै, रमाइलोसँग देउसी र भैलो पनि खेल्दछौं । नेपालीहरुको लागि यो एउटा राष्ट्रिय उत्सव हो । देशमा मात्र होइन विदेशमा पनि दशैं र तिहार भव्यताका साथ मनाईन्छ । यसैक्रममा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका नेपालीले पनि तिहार उल्लासपूर्वक मनाएका छन् । देउसी भैलो खेलेर आर्थिक संकलन गरी विभिन्न परोपकारी काम गर्ने क्रम भने तिहारपछि पनि यथावत नै छ । यसैक्रममा आज आइतबार झापाली समाज अष्ट्रेलियाले देउसी र भैलो कार्यक्रम आयोजना गर्दैछ भने एनआरएन न्यूसाउथवेल्सले शनिबार विभिन्न पाँच ठाउँमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । न्यूसाउथवेल्सका नेपाली बाहुल्य रहेका क्षेत्रमा पुगेर एनआरएनको टिमले देउसीका माध्यमबाट आर्थिक संकलन गरेको छ । यसरी संकलित रकम सामूदायिक बचतमा राख्ने र परोपकारी काममा लगाउने योजना रहेको देउसी भैलो संयोजक एवं एनआरएन न्यूसाउथवेल्सका उपसंयोजक प्रकाश खरेलले जानकारी दिनुभयो । खरेलले भन्नुभयो, संस्कृतिको जगेर्नाका साथै परोपकारी काम पनि अघि बढोस् भनेर हामीले छोटो तयारीमै भएपनि कार्यक्रम गरेका हौं । हामीलाई समूदायका सदस्यहरुले जुन साथ र हौसला दिनुभयो त्यसले उत्साही बनाएको छ । देउसीको प्रमुख आकर्षण नेपालका पुराना प्यारोडी गायक रतन सुवेदी हुनुहुन्थ्यो । अमेरिकामा बसोबास गर्ने सुवेदी पारिवारिक कामको सिलसिलामा अष्ट्रेलियाका आएको बेला यस किसिमको कार्यक्रममा सहभागी हुन पाउनु खुशीको कुरा भएको बताउनुहुन्छ । देउसी भैलो टोलीमा एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल, सचिव भुपाल सिटौलासहितका पदाधिकारी र कलाकारहरु थिए ।