दिउँसै चोरी गर्ने गिरोह पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक
महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगाते र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले विभिन्न समयमा दिउँसै चोरी गरेर फरार भएका गिरोहका व्यक्तिहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले यही कात्तिक १७ गते र त्यसभन्दा अघि सूर्यविनायक नगरपालिका– ६ पाण्डुबजार, सुन्दर बस्तीलगायत आसपासका क्षेत्रबाट घरमा कोही नभएको अवस्थामा दिउँसै चोरी गर्दैै हिँड्ने समूहको पहिचान गरी पक्राउ गरेको हो । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक ज्यामिरे– ९ घरभई हाल काठमाडौँ नारायणटार, जोरपाटी बस्ने २१ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोक, भोटे नाम्लाङ– १ घर भई जोरपाटी बस्ने १८ वर्षीय मनोज तामाङ, सिन्धुपाल्चोक लाङर्चे– १ घर भई जोरपानी नै बस्ने २२ वर्षीय जिमी लामा रहेका छन् । त्यसैगरी चोरिएको सामान चोरी गर्ने गिरोहबाट लिएर बिक्री गर्नेमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखु– ४ घर भई जोरपाटी बस्ने २३ वर्षीय चन्द्र लामा र चोरीको सामान खरिद गर्ने नवलपरासी रजहर– १ घर भई हाल पुरानो बानेश्वर बस्ने ४४ वर्षीय देवीलाल विकलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सूर्यविनायकबाट तीनजनालाई काठमाडौँ जोरपाटीबाट एकजनालाई र पुरानो बानेश्वरबाट एकजनालाई चोरी भएका सामान, चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता शेखर खनालले जानकारी दिनभयो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट चोरीमा प्रयोग हुने सामान फलामको रड एक थान, खुकुरी एक थानसहित चोरिएका सामान सुनका गरगहनामा मङ्गलसूत्र पाँच थान, सिक्री एक थान, जन्तर एक थान, मुन्द्रा दुई जोर, चाँदीको सिक्री एक थान, मोबाइल पाँचवटा र नगद रु १३ हजार बरामद गरेको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा यो गिरोहले दिउँसो घरमा कोही नभएको मौका पारी सुन, मोबाइल, नगदजस्ता सामग्री चोरी गर्न सक्रिय रहेको पाइएकाले थप अनुन्धान गर्दै कारबाही अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनभयो ।