एमाओवादी अध्यक्ष दाहाल र मधेसवादी दलका नेताहरूबीच वार्ता


prachanda1एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत दलका नेताहरूसँग अनौपचारिक छलफल गर्नुभएको छ । एक निजी निवासमा भएको छलफलमा तत्काल तराई मधेसको आन्दोलन स्थगित गर्न अध्यक्ष दाहालले मधेसी मोर्चाका नेताहरूसँग आग्रह गर्नुभएको थियो । आन्दोलन र भारतले जारी राखेको अघोषित नाकाबन्दीका कारण मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले लचकताका साथ वार्तामा बस्न मधेसवादी दलका नेताहरूलाई अनुरोध गर्नुभएको थियो । “आन्दोलनरत मधेसवादी दलका नेताहरूसँग आज गम्भीर छलफल भयो । वार्ता सकारात्मक रहेको थियो । आज अरू दिनभन्दा असाध्यै महत्वपूर्ण छलफल भयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उहाँका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छुट्टा–छुट्टै छलफल गर्ने र सीमाङ्कनलगायतका विषयमा प्याकेजमा निष्कर्ष निकाल्ने सहमतिसमेत आजको बैठकमा भएको थियो । आन्दोलनका कारण मुलुकको अवस्था असाध्यै भयावह भएको भन्दै अध्यक्ष दाहालले एक राजनीतिक समितिमार्फत सीमाङ्कनको समस्या समाधान गर्न सकिने प्र्रस्ताव गर्नुभएको थियो । सीमाङ्कनलगायतका विषयमा राजनीतिक समितिमार्फत प्रक्रिया अगाडि बढाउने र अन्य विषयमा भने संविधान संशोधन विधेयकमार्फत अगाडि बढाउन सकिने बताउनुभएको थियो । एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले द्विपक्षीय छलफलमा उठेको विषय उल्लेख गर्दै भन्नुभया,े ‘‘वार्ता समस्याको समाधान गर्ने दिशामा नै केन्द्रित रहेको छ, असाध्यै महत्वपूर्ण छलफल भयो, आन्दोलनरत मधेसवादी दलका नेतासमेत आन्दोलन अनियन्त्रित दिशामा गयो भन्नेमा चिन्तित हुनुहुन्छ ।” छलफलमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?