भारतले मालबाहक सवारीलाई रोक लगाउनु दुर्भाग्य :अर्थमन्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फको अवस्था सामान्य रहेका भन्सार नाकाबाट समेत भारतीय पक्षले नेपाल आउने मालबाहक सवारीलाई रोक लगाउनु दुर्भाग्य भएको बताउनुभएको छ । उहाँले नेपालको एक प्रमुख भैरहवा भन्सार कार्यालयको आज निरीक्षणपश्चात् नेपालतर्फको अवस्था सामान्य रहेको र सुरक्षा अवस्थासमेत व्यवस्थित रहेको अवस्थामा भारतीय क्षेत्रमा नेपाल प्रवेश गर्नबाट मालबाहक सवारीसाधन केही दिनदेखि रोकिनु गम्भीर विषय भएको बताउनुभयो । त्यस अवसरमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लावण्यकुमार ढकालले भारतको अघोषित नाकाबन्दीका कारण यस क्षेत्रको प्रमुख भन्सार नाका भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । उहाँले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा देशकै भन्सार राजस्व सङ्कलनको दोस्रो स्थानमा रहेको यो भन्सार कार्यालयको राजस्व असुलीको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा कात्तिक महिनासम्ममा ५.१४ प्रतिशतले कम राजस्व असुली भएको छ । अघिल्लो आव २०७१÷७२ को यसै अवधिमा १८.४४ प्रतिशत बढी राजस्व असुली भएको थियो । भन्सार विभागले यस कार्यालयलाई आव २०७२÷७३ का लागि कुल लक्ष्य रु ३० अर्ब ११ करोड ५७ लाख राजस्व सङ्कलन लक्ष्य तोकेको छ । चालु आवको चार महिना अर्थात कात्तिक महिनासम्मको जम्मा लक्ष्य रु नौ अर्ब तीन करोड ४७ लाख रहेकामा भारतको अघोषित नाकाबन्दीका कारण लक्ष्यभन्दा कम अर्थात रु सात अर्ब ६८ करोड ५१ लाख राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ । यो राजस्व सङ्कलन वार्षिक लक्ष्यमा कात्तिक महिनासम्मको असुली प्रगति २५.५२ प्रतिशत रहेको र कात्तिक महिनासम्मको लक्ष्यमा असुली प्रगति प्रतिशत ८५.०६ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयले यो आव २०७२÷७३ को चार महिनाको अवधिमा भन्सार महसुलतर्फ रु तीन अर्ब ६४ करोड ७१ लाख असुलीको लक्ष्य राखेकोमा यस अवधिमा रु तीन अर्ब ३८ करोड ४३ लाख असुली गरी ९२.७९ प्रतिशत लक्ष्य हासिल गरेको पाइएको छ । यस्तै, यस अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु चार अर्ब छ करोड १४ लाख लक्ष्य रहेकामा रु दुई अर्ब ९८ करोड २० लाख असुली भएको छ । साथै, अन्तःशुल्कतर्फ रु एक अर्ब ३२ करोड ६२ लाखको लक्ष्य रहेकामा रु एक अर्ब ३१ करोड ८९ लाख सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख ढकालले बताउनुभयो । कार्यालयले चालु आवको पहिलो महिना साउनमा रु एक अर्ब ८० करोड ६९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु एक अर्ब ९६ करोड १३ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ । यो १०८.५४ प्रतिशत लक्ष्य असुली हो । चालु वर्षको भदौ महिनामा रु दुई अर्ब ५५ करोड ९८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकोमा यो भन्सार कार्यालयले रु दुई अर्ब ३१ करोड ८१ लाख राजस्व उठाएर ९०.५६ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै, पहिलो त्रैमासिक महिना असोजमा रु दुई अर्ब २५ करोड ८७ लाख लक्ष्य रहेकामा झन्डै ६६.४२ प्रतिशत लक्ष्य असुली प्राप्त गरी रु एक अर्ब ५० करोड एक लाख राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ । आवको कात्तिक महिनामा राखिएको लक्ष्य रु दुई अर्ब ४० करोड ९३ लाख भएकोमा रु एक अर्ब ९० करोड ५७ लाख उठेको छ जुन ७९.१० प्रतिशत लक्ष्य असुली हो । चालु आवको मङ्सिर महिनामा १० गतेसम्ममा राखिएको लक्ष्य करिब रु आठ करोड ३० लाख रहेकामा रु एक अर्ब आठ करोड ६८ लाख अर्थात् १३०.८१ प्रतिशत लक्ष्य हासिल भएको देखिन्छ । यो भन्सार नाका हँुदै आयात हुने प्रमुख वस्तुमा एमएस बिलेट, पेट्रोलियम पदार्थ, क्लिङ्कर, सिमेन्ट, सिङ्गल पिकअप गाडी, जिपजस्ता चारपाङ्ग्रे सवारी साधन, मोटरसाइकल, मार्बल तथा टायल, खाद्यान्न, फलफूल तथा आलु प्याज हुन् । अर्थमन्त्री पौडेलले आपूm जुनसुकै क्षेत्रमा पनि काम र त्यसको परिणाममा विश्वास गर्ने भएकाले परिणाममुखी कामका लागि अग्रसर हुन भन्सारका सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्सार कार्यालयले सरोकारवाला सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन गर्नुभयो । मन्त्री पौडेलले भन्सार क्षेत्रको विकासका लागि अगाडि बढाइएको योजनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।