भारतीय नाकाबन्दीको विरोधमा पर्थमा प्रदर्शन, बिहीबार क्यानबेरामा


perthभारतले नेपालमा गरेको अमानवीय नाकाबन्दीको विरोधमा अष्ट्रेलियाको पर्थमा बृहद प्रदर्शन भएको छ । एनआरएन वेष्टर्न अष्ट्रेलिया र नावाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । विरोध प्रदर्शन वेस्ली चर्चको अगाडि गरिएको थियो । प्रदर्शन अघि हातमा व्यानर बोकेर नेपाली समूदायका सदस्यहरुले केहीबेर व्याराक स्ट्रीटसम्म मार्च पनि गरेका थिए । कार्यक्रममा उपस्थित नेपाली समूदायका सदस्यहरुले नेपालको संविधान आफैंले लेख्न पाउने अधिकारको सम्मान गर्न, नाकाबन्दी तुरुन्त खुला गर्न, नेपालमा माानवीय संकट बढेको छ भन्ने लगायतका नारा अंकित व्यानर बोकेका थिए । कार्यक्रम एनआरएन अष्ट्रेलियाले देशव्यापी रुपमा नेपालमा भएको नाकाबन्दीको विरोधमा प्रदर्शन गर्ने, हस्ताक्षर संकलन गर्ने र भारतीय दूतावासमा पुगेर बुझाउने लगायतका कार्यक्रम गरिरहेको सन्दर्भमा आयोजना गरिएको हो । यसैबीच, बिहीबार ३ डिसेम्बरका दिन अष्ट्रेलियाको राजधानी शहर क्यानबेरामा पुगेर एनआरएन अष्ट्रेलिया लगायत नेपाली संघ संस्थाले विरोध गर्ने तयारीलाई अघि बढाएका छन् । एनआरएन अष्ट्रेलियाले यस विरोध कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार विहान ८ः३० बजे संसद भवन बाहिर उभिएर प्रदर्शन गर्ने तयारी छ । यसपछि अष्ट्रेलियन विदेशमन्त्रीलाई भेटेर नेपालमा भएको पछिल्लो अवरोध र यसले पुर्याएको असरको बारेमा जानकारी दिइनेछ । डा. रेग्मीका अनुसार यसपछि प्रतिपक्षी दलमा विदेश मामिला हेर्ने स्याडो फरेन मिनिष्टरसँग भेट्ने र जानकारी गराउने कार्यक्रम तय भएको छ । यसपछि विश्व व्यापार संगठन डब्लुटिओ, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थामा विरोधपत्र बुझाइनेछ भने यसपछि भारतीय दूतावासमा पुगेर अष्ट्रेलियाका विभिन्न ठाउँबाट संकलित हस्ताक्षरसहित विरोधपत्र बुझाउने तयारी छ । यसपछि नेपाली दूतावासमा पनि पुगेर छिटो समस्या समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने मागसहित ध्यानाकर्षण गराइनेभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?