विश्वमै साझा सत्रु आईएस रहेको ओबामाको ठहर, एकताबद्ध भएर प्रतिकार गर्नुपर्ने


Barack Obamaअमेरिकी राष्ट्रपति बाराक ओबामाले रसिया र टर्कीलाई आफ्ना आन्तरिक विवादको अन्त्यगरी इस्लामिक स्टेटविरुद्धको कारबाहीमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । उहाँले फ्रान्सको राजधानी पेरिसमा टर्कीका आफ्ना समकक्षी रिसिप तैइब अर्दाेगानसँग भएको भेटघाटका क्रममा मङ्गलबार सो धारणा राख्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँले पछिल्लो समयमा टर्की र रसियाबीच जारी रहेको आक्रमणका कारण उत्पन्न परिस्थितिप्रति लक्षित गरी सो धारणा राख्नुभएको हो । हालैमात्र सिरियामा हमला गर्ने क्रममा रसियाको एक युद्धक विमान टर्कीले आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भनी खसालिदिएको थियो । सो घटनापछि पहिलो पटक अमेरिकी राष्ट्रपति ओबामाले दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो । ओबामाले भन्नुभयो– “मेरो स्पष्ट धारणा यो छ कि टर्कीले आफ्नो आकासको रक्षा गर्न पाउछ र उसले सो अधिकार पनि राख्छ ।” तर उहाँले अब यी सबै विगतका घटनाक्रमहरुलाई तन्काएर कुनै फाइदा नरहेकाले आगामी दिनमा एक भएर आइएसविरुद्धको कारबाहीका लागि लाग्नु नै श्रेयस्कर हुने बताउनुभयो । उहाँले वर्तमान विश्वमा हेर्दा हाम्रो साझा सत्रु भनेको आइएस हो र उसका विरुद्धमा लाग्न नै म सबैलाई अहिलेको अवस्थामा आग्रह गर्छु– राष्ट्रपति ओबामाले भन्नुभयो । हाल विश्वका नेताहरु जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा रहेका छन् । गत नोभेम्बर १३ मा पेरिसमा भएका आतङ्कवादी हमलाहरुमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइएसले सो हमला गरेको थियो । उक्त आतङ्कवादी हमलाको महिनादिन भित्रै सुरु भएको यस सम्मेलनमा आइएसका विरुद्धमा गरिनुपर्ने कारबाहीका बारेमा व्यापकमात्रामा चर्चा भएको प्राप्त समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?