मधेशी मोर्चासँग आज निर्णायक वार्ताको तयारी, एमाले र काँग्रेस बनाउँदै साझा धारणा
मधेसकेन्द्रित दलको आन्दोलन र मागका सम्बन्धमा बुधबार हुने वार्ताबारे धारणा बनाउन प्रमुख तीन राजनीतिक दलले आन्तरिक गृहकार्य गरेका छन् । नयाँ संविधानमा सीमाङ्कन र निर्वाचन क्षेत्र निर्धारणको आधार आदि विषयमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग यसअघि विभिन्न चरणमा भएका वार्ताबारे ती दलले आन्तरिक छलफल गरेका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का आफ्ना पदाधिकारीका बैठकमा धारणा बनाई पुनः तीन दलको बीचमा सकेसम्म साझा धारणा बनाउने दलहरुको तयारी छ । सोही क्रममा प्रधानमन्त्री निवास वालुवाटारमा एमालेका पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा मुलुकको सार्वभौमिकतालाई ध्यानमा राखी समस्या समाधानका लागि गम्भीरताका साथ प्रस्तुत हुने कुराकानी भएको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
यसैबीच, सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि हुने त्रिपक्षीय वार्तालाई निष्कर्षमा पु¥याउन नेपाली काँग्रेसले सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । आन्दोलनरत दलका मागलाई सम्बोधन गरी मुलुकको वर्तमान समस्या हल गर्ने विषयमा निर्णय गर्न भएको काँग्रेस पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यको बैठकले सो निर्णय गरेको हो । बैठकमा मुलुकको वर्तमान समस्या र मोर्चाले उठाएको ११ बुँदे मागका सम्बन्धमा गम्भीररुपमा छलफल हुनुका साथै भोलि हुने वार्तालाई सफल बनाउन सबै विकल्पमाथि खुलारुपमा छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता दीेलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । काँग्रेसले यसअघि आफ्नै नेतृत्वको सरकारले पेस गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरे तराई मधेसमा भइरहेको आन्दोलनको धेरैजसो माग पूरा हुने भन्दै त्यसलाई तत्काल पारित गर्न सबै दलसँग आग्रह गरेको छ । यसबाहेक मोर्चाले उठाएको सीमाङ्कनको विषयमा पनि काँग्रेसले मुलुकको हितमा र पुनः अर्काे आन्दोलन नहुने गरी छलफल गर्न सकिने निष्कर्ष निकालेको प्रवक्ता बडूले बताउनुभयो । मोर्चाको ११ बुँदे मागका सम्बन्धमा कतिपय माग सरकारले पुरा गर्नसक्ने रहेको अवगत गराउँदै प्रवक्ता बडूले भन्नुभयो, “अन्य राजनीतिक मागका बारेमा भोलि हुने वार्तामा हामी विभिन्न विकल्पमा खुलारुपमा छलफल गर्न तयार छौँ ।” काँग्रेसले वार्तामा सकारात्मकरुपमा प्रस्तुत हुने र मोर्चाका मागका सम्बन्धमा अन्य दलबाट आउने धारणा सुनेपछि आन्दोलनका माग सम्बोधन गर्न लचक हुने निर्णय गरेको छ । बैठकमा सभापति कोइरालाले संयुक्त राज्य अमेरिकाबाट फर्केर आएपछि अन्य दल र मोर्चासँग भएका छलफलका बारेमा जानकारी गराउनुभएको थियो । सत्तारुढ दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत मोर्चाबीच भोलि निर्यायक वार्ता हुने बताइएको छ ।