सरकारले जातीय नरसंहार मच्चाएको आरोप मधेशी मोर्चाले आन्दोलन नरोक्ने
राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन् । धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भएपनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताउनुभयो । अहिले मधेसको विरोधमा दलहरू एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनता आफ्नो अधिकार र पहिचानको लागि सङ्घर्ष गरिरहेको चर्चा गर्नु भयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने धारणा राख्नु भयो । उहाँले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताउनुभयो । तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको आन्दोलनलाई अहिले निर्णायक बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।