तीन चरणमा सहमति हुने प्रस्तावबारे जानकारी नभएको उपेन्द्र यादवको भनाई, वार्ता नै भएको छैन के को सहमति ?
बिहीबार दिनभर तीन चरणमा अहिलेको समस्या समाधान हुन लाग्यो भन्ने चर्चा चल्यो । यसको मुख्य श्रोत थियो भारतमा प्रकाशित भएको द हिन्दू नामक पत्रिकामा कमल थापालाई हवाला दिँदै लेखिएको समाचार । जसमा तीन चरणमा सहमति खोज्ने विषयमा भारतीय विदेशमन्त्री शुष्मा स्वराज र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको बताइएको थियो । यसका लागि मधेशी मोर्चालाई मिलाउने प्रयास गरिने पनि भनिएको छ । तर, काठमाडौं फर्कदा नफर्कदै परराष्ट्रमन्त्री कमल थापाले परिणाम नआएसम्म यस विषयमा ढुक्क हुन नसकिने बताएका छन् । अर्कोतर्फ, मधेशी मोर्चाका एक प्रमुख नेता उपेन्द्र यादवले भने वार्ता नै भएको छैन के को सहमति भनेर यो प्रश्नलाई नकारीदिएका छन् । वीरगञ्जमा आफ्ना कार्यकर्तालाई भारतीयहरुले कुटपिट गरेपछि आक्रोशित उनी भन्दै थिए, मधेशी कति धेरै पीडित छौं, यता पुलिसले लखेट्छ उताबाट दशगजामा डन्डा हानिन्छ । यसैबीच, तीन दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्न एकमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा (एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गरेको हो । समस्या समाधानका लागि तीन दल एकमत भए पनि साझा धारणा कस्तो बन्यो र आन्दोलनरत पक्षसँग कहिले वार्ता हुने हो भन्ने कुरा बाहिर ल्याइएको छैन । यद्यपि नेताहरूले आजै वा छिटोभन्दा छिटो मधेसी मोर्चासँग वार्तामा बस्ने बताएका छन् ।
बैठकले अहिलेको अफ्ठ्यारो अवस्थालाई चिर्न छिटोभन्दा छिटो समाधान खोज्ने सहमतिका साथ एकताबद्ध भएर अगाडि जाने निष्कर्ष निकालेको उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री रावलले भन्नुभयो, “हाम्रा बीचमा अहिलेको समग्र अवस्थाबारे गम्भीर रूपमा छलफल र समीक्षा भयो । समस्या समाधानका लागि अहिले उठिरहेका जे जति विषय छन् ती विषयलाई टुङ्गो पु¥याउन पुनः आन्दोलनरत पक्षसँग वार्ता गरी त्यसबाट निस्कने निष्कर्षलाई कार्यान्वयन गर्ने सहमति भएको छ ।” काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन दलबीच मुलुकको समग्र परिस्थितिबारे छलफल भएको र अहिलेको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्ष निकाले बताउनुभयो । उहाँले भन्नुभयो – “आजको छलफल सदाको भन्दा एक दुई कदम अगाडि छ, सकारात्मक छ, मधेसी मोर्चाका साथीहरूसँग बसेर छलफल गरेपछि मात्रै हाम्रो संयुक्त धारणा बन्छ । त्यसकारण उहाँहरूलाई छिट्टै छलफलमा बोलाउँछौँ र आजको छलफलबाट जे जति हामीले बुझ्यौँ सरकारबाट जति सूचना हामीले पाएका छौँ त्यसले संवादबाट निष्कर्ष निकाल्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।” एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसमा चलिरहेको आन्दोलन र नाकाबन्दीका सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्दर्भमा केही ठोस धारणा तय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “बैठकले अहिलेको समस्या समाधानका लागि केही ठोस धारणा तय गरेको छ । त्यस आधारमा आज वा सकेसम्म छिटो आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको छ । देशको असहज परिस्थितिलाई कुनै पनि ढङ्गले ढिलो नगरीकन समाधान गर्न सबैलाई अपिल गरेको छ ।”