तराईमा मानवअधिकारवादीहरुमाथि गरिएको आक्रमणले आयोग गम्भीर
राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनको अनुगमनमा खटिएका मानवाधिकार रक्षकमाथि आक्रमण गरिएकोप्रति भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आयोगमा एक्कासि बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पु¥याउने व्यक्तिका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको हो । आयोगका अधिकृत नितु गड्तौलाको नेतृत्वमा मधेस आन्दोलनको अनुगमनमा खटिएको मन्दिरा श्रेष्ठ, विभा ढुङ्गाना र श्रीराम कार्की लगायतको टोलीमाथि बिहीबार सर्लाही नवलपुरको जुटपानीमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजपत्र र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएका थिए । आयोगका प्रवक्ता मोहना अन्सारीले आन्दोलनको अनुगमन गर्न गएको टोलीमाथि आक्रमण गर्नु अमानवीय भएको र सो कार्य नेपालको संविधान, नेपाल पक्ष भएको मानवअधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्र १९९८, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र प्रचलित कानुन विपरीत रहेको बताउनुभयो । मधेस आन्दोलनका क्रममा मानवाधिकारको परिपालन गर्न गराउन आवश्यकताअनुसार आयोगका सदस्यकै नेतृत्वमा समेत स्थलगत अनुगमन गरी यथार्थ र निष्पक्ष प्रतिवेदन सार्वजनिक गरिँदै आएको विज्ञप्तिमा उल्लेख छ । अनुगमन टोलीले तयार गरेको प्रतिवेदनमा सरकार तथा आन्दोलनकारी दललाई मानवाधिकारप्रति संवेदनशील हुन, सर्वसाधारण, सञ्चारकर्मी, मानवाधिकार रक्षक तथा एम्बुलेन्सजस्ता मानवीय सेवामा खटिएका सवारीमा समेत आक्रमण गरी जनधनको क्षति पु¥याउने कार्य अविलम्ब रोक्न र शान्तिपूर्ण रुपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न समेत आयोगले आग्रह गरेको छ । जीवनको अधिकार, स्वास्थ्य, शिक्षा, खाद्यान्नलगायतका आधारभूत सेवामा अवरुद्ध गर्ने र मानवअधिकार रक्षक, सञ्चारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षण गर्नका लागि आयोगले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।