पारिवारिक हिंसाका कारण मानसिक सन्तुलन गुमाएकी सुत्केरी महिलाको प्रहरीबाट उद्धार
इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरले मङ्गलबार सुत्केरी अवस्थामा अलपत्र महिला र शिशुको उद्धार गरेको छ । परिवारको यातनाबाट मानसिक सन्तुलन गुमाएकी झलारीपिपलाडी नगरपालिकाकी ३० वर्षीया नन्दा पार्कीले झलारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माएकी थिइन् । नन्दाबाट जन्मिएको बच्चा परिवार र माइती पक्ष दुबैले लिन अस्वीकार गरेपछि उनको उपचार तथा हेरचाहका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याएको छ । झलारीपिपलाडी नगरपालिकाको लालपनियाका भोज पार्कीसँग विवाह गरेकी नन्दाका दुई छोरासमेत रहेको प्रहरीले जनाएको छ । चौध वर्षीय छोरा दिनेश पार्कीले पनि पारिवारिक सहारा नपाएपछि सन्तुलन गुमाएकी आमासँगै झलारी बजार क्षेत्रका पेटीमा आश्रय लिँदै आएका छन् । प्रहरीको सहारामा केही दिनअघि झलारीस्थित बर्थिङ सेन्टरमा पुगेको बर्थिङ सेन्टरकी अनमी पार्वती कुँवरले बताउनुभयो । “आमाले बच्चालाई जन्म दिएको भए पनि बच्चाको बुबा थाहा हुन नसक्दा नन्दाका आफ्न्तहरूले उनलाई घरमा लिन मानेनन्”, अनमी कुवँरले भन्नुभयो । पिपलाडी क्षेत्रमा मेलमिलाप कर्ताका रूपमा काम गर्दै आएकी मेलमिलाप कर्ता पुष्पा केसीका अनुसार नन्दाको विसं २०६३ मा श्रीमान्सँग घरायसी विवादले कुटपिट गर्दा मानसिक सन्तुलन गुमेको थियो ।