स्वदेश फर्केर उपेन्द्र यादवले भने – आन्दोलन जारी रहन्छ, नाकाबन्दी खुल्दैन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेशको माग पूरा नगर्दासम्म जारी आन्दोलन नरोकिने बताएका छन् । चार दिवसीय भारत भ्रमण सम्पन गरेर बुधवार मध्यराती स्वदेश फिर्ता भएको मोर्चा टोलीको तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारको रवैया समाधानमुखी नभएकोले आन्दोलनको विकल्प नभएको बताए । नाकाबन्दी बारे संचारकर्मीको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले भने, ‘हामीले समाधान खोज्न भारत भ्रमणमा गएका थिएनौं, समाधान नेपालभित्रै खोज्ने हो । तर, मधेशको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ । नाकाबन्दी खुल्दैन ।’
उनले मोर्चाको भारत भ्रमणले मधेश आन्दोलन बारेको भ्रम हटेको समेत बताए । ‘नेपाल सरकार तथा विभिन्न राजनीतिक दलहरुले मधेश आन्दोलन बारे भारतमा विभिन्न किसिमका अनर्गल भ्रमहरु फैलाएका थिए, त्यसलाई चीर्न मोर्चा सफल भएको छ’, अध्यक्ष यादवले भने, ‘मधेश आन्दोलन र यसका विभिन्न पक्षहरुबारे हामीले आफ्ना कुराहरु खुलस्त रुपमा राख्यौं, दुई पक्षबीच विचार आदानप्रदान भयो, यसले नयाँ सिराबाट छिमेकीसँग सम्बन्ध स्थापित भएको छ ।’
अध्यक्ष यादवले नेपाली कांग्रेसको प्रस्तावमा सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनको भावना विपरीत रहेको टिप्पणी गरेका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकनको विवाद टुंग्याउने गरी शुक्रवार भएको सहमतिलाई अध्यक्ष यादवले ठाढै अस्वीकार गरेका छन् । ‘तीन दलको संशोधन प्रस्ताव मधेशलाई भुलाएर आन्दोलन तुहाउने षड्यन्त्र मात्रै हो’, सीमांकन नै मोर्चाको प्रमुख मुद्दा भएको भन्दै यादवले भने, ‘प्रमुख मागबाट नै विमुख गर्न यो उधारो प्रस्ताव आएको छ । यो कुनै पनि हालतमा हामीलाई मान्य छैन ।’
उधारो सहमति मोर्चालाई मान्य नभएको भन्दै यादवले नयाँ संविधान जारी गर्दा तीन दलका नेताहरुले गरेको त्रुटि नसच्याएसम्म आन्दोलन नरोकिने दावी गरे । फोरम नेपालका अध्यक्ष यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज मध्यराती स्वदेश फर्केका हुन् ।