शक्तिशाली राजनीतिज्ञलाई पछि पार्दै एञ्जेला मर्केल बनिन् टाईम्स पर्सन अफ द एयर
जर्मनका चान्सलर एन्जेला मर्केलले विश्व प्रसिद्ध पत्रिका ‘टाइम्स’ द्वारा पुरस्कृत गरिने ‘टाइम्स पर्सन अफ द एयर’ को उपाधि प्राप्त गर्न सफल हुनुभएको छ । उक्त पत्रिकाका सम्पादक नान्सी गिब्सद्वारा बुधबार जारी वक्तव्यमा जर्मन चान्सलर उक्त उपाधिद्वारा विभूषित भएको जनाइएको छ । मर्केललाई सिरियाली शरणार्थीदेखि ग्रीसको शरणार्थी सङ्कट लगायत विभिन्न विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त उपाधिद्वारा सम्मान गरिएको वक्तव्यमा बताइएको छ । मर्केललाई निरङ्कुशवादविरुद्ध कडा रूपमा प्रतिवाद गर्दै संसारमा राजनीतिक आदर्शवादी नेतृत्वको खडेरी परिरहेको सन्दर्भमा स्थिर तथा सदाचारी नेतृत्व गर्न सफल भन्दै उक्त उपाधि दिइएको सम्पादक गिब्सले बताउनुभयो । मर्केल पछिल्लो २९ वर्षमा सो उपाधि प्राप्त गर्ने पहिलो महिला हुनुहुन्छ । उक्त उपाधिका लागि अन्तिम सातमा छानिएका अल बग्दादी, डोनाल्ड ट्रम्प, ब्लाक लाइभ्स म्याटर एक्टिभिस्टस्, हसन रौहानी, ट्राभिस कालानिक र काइटलिन जेनरलाई उछिन्दै जर्मन चान्सलर मर्केल प्रथम हुनुभएको वक्तव्यमा जनाइएको छ । यसअघि महात्मा गान्धी (१९३०), क्वीन एलिजावेथ द्वितीय (१९५२), एडल्फ हिटलर (१९३८) र फ्रान्कलिन डी. रुजबेल्ट (१९३२) र रुज बेल्टपछि अमेरिकी राष्ट्रपति हुने सबै नेताहरूलगायतले सो उपाधि हासिल गर्नुभएको छ । यसवर्ष उपाधिका लागि नाम मनोनित भएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सन् २००७ मा सो उपाधि पाउनुभएको थियो ।