एनआरएन अष्ट्रेलियामा विवाद, निर्णय प्रक्रियामा सचिवको असहमति


BIBADएक लाख डलरको विद्यार्थी कल्याण कोष निर्माण गर्ने योजना बनाएको एनआरएन अष्ट्रेलियाको गत आइतबार सम्पन्न बैठक विवादमा परेको छ । बैठकपूर्व पदाधिकारीहरुसँग छलफल नभएको, योजनाविना नै टास्क फोर्सहरु बनाइएको र न्यूसाउथवेल्स बाहेकका एनआरएन राज्यसमितिहरुलाई बेवास्ता गरिएको आरोप लगाउँदै सचिव टोनु घोतानेले फरक मत प्रस्तुत गरेका छन् । सचिवले बैठक नै बहिष्कार गरिएको विषयमा बुझ्न खोज्दा घोतानेले भन्नुभयो, “म यो विषयमा केही बोल्न चाहन्न । बैठकमा त्यतिधेरै साथीहरु हुनुहुन्थ्यो उहाँहरुसँग बुझ्नुहोला । निर्णय प्रक्रियामा मेरो असहमति रहेको कुरा साँचो हो ।”

यसै विषयमा हामीले एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलसँग बुझ्दा उहाँले भन्नुभयो, “यतिधेरै साथीहरु छौं केहीको असहमति हुनु स्वाभाविक हो । बैठकमा तर्क वितर्क हुन्छन् । तर, एनआरएनको निर्णय वैधानिक रुपमा नै भएको छ ।” सचिव घोतानेले बहिष्कार गर्नुभएको हो ? भन्ने प्रश्नमा अध्यक्ष सिग्देलको तर्क छ, “बैठकको सुरुवातमा उहाँ हुनुहुन्थ्यो । पछि के गर्नुभयो मलाई थाहा भएन ।” यसै विषयमा प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीसँग कुरा गर्दा उहाँले यस विषयमा छिट्टै प्रष्ट हुने बताउनुभयो । प्राप्त जानकारी अनुसार एनआरएन क्वीन्सल्याण्डको तर्फबाट समयमा बैठक सुरु नभएकोमा असन्तुष्टी जनाइएको थियो भने केही पदाधिकारीहरुबीच बादविवाद भएपछि स्थिति बिग्रिएको थियो । प्रक्रियासम्मत पदाधिकारीमा छलफल नभएका विषयलाई पछि टुंगो लगाउनुपर्ने अडान सचिव टोनु घोतानेको थियो भने जसरी हुन्छ आइतबारकै बैठकमा सबै निर्णय हुनुपर्ने केहीले अडान राखेका थिए । मुख्यतः सल्लाहकार नियुक्तिको सवालमा एनआरएन भिक्टोरियालाई बेवास्ता गरिएको आरोप लागेको छ । विवाद बढ्दै जाँदा अब के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष सिग्देलले भन्नुभयो, “निर्णय भएका छन् ति कार्यान्वयन हुन्छन् । हामी नयाँ जोशका साथ अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको हितमा काम गर्न प्रतिबद्ध छौं । सानातिना विवादले केही फरक पर्दैन ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?