देश संकटमा सबै दललाई साथ दिन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न पुनः आह्वान गर्नुभएको छ । नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनको बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ । यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।” । उहाँले भन्नुभयो, “नाकाबन्दीले जनजीवन कष्टकर भएको छ । त्यसैले हामी विकासमा पनि पछि परेका छौँ ।” प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम गर्दैन भन्नुभयो । उहाँले नेपाली काँग्रेसलाई लक्षित गर्दै सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताउनुभयो । उहाँले सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको बताउँदै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुन्छ भन्नुभयो । उहाँले एक वर्षभित्र मुुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिँदै काठमाडौँमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिनेछ भन्नुभयो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको प्राथमिकता सङ्घीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको उल्लेख गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सांसद विदुर सापकोटाले काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउन आग्रह गर्नुभयो । सांसद तथा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका पूर्व अध्यक्ष गोकुल बाँस्कोटालगायतले अधिवेशनबाट सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने अधिवेशनमा एक हजार एकसय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।