नेप्लीज डान्स २०१५ को उपाधि पर्थकी रञ्जना सापकोटालाई, क्यानबेरा, ब्रिसबेन र मेलबर्नका प्रतियोगीबाट पनि उपाधिमा कब्जा


सुमन सिवाकोटी, ब्रिसबेन
ब्रिसबेनमा शनिबार सम्पन्न नेप्लीज डान्स कम्पीटिशन २०१५ को एकलतर्फको उपाधि पर्थकी नृत्यंगना रञ्जना सापकोटाले हात पार्न सफल भएकी छिन् । Dance prizeउनलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ । करिब ६ घण्टाभन्दा बढी चलेको प्रतियोगिताको एकलतर्फ १६ जना प्रतियोगीमध्ये टप ५ मा पुग्न सफल भएकी रञ्जनाले चार जनालाई पछि पार्दै उपाधिमा कब्जा गरेकी हुन् । उनको प्रतिस्पर्धामा मेलबर्नकी सुजाना भारती दोश्रो र सुवासना श्रेष्ठ तेश्रो भएका थिए ।   यस्तै युगलतर्फको नृत्य प्रतिस्पर्धामा क्यानबेराकी प्रतिस्पर्धी स्वेता पौडेल र सुचना पौडेलले उपाधिमा कब्जा जमाए उनीहरुको प्रतिस्पर्धी निशा राजभण्डारी र सुजाना भारतीले दोश्रो स्थान प्राप्त गरे भने रिशिका पौडेल र तृषा शर्माले तेश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । राज्यका हिसाबले मेलबर्न दोश्रो र ब्रिसबेन तेश्रो भएको हो । यस्तै सामूहिक नृत्यतर्फ सुजाना भारती, निशा राजभण्डारी, सुबासना श्रेष्ठ र पवित्रा भुजेलले पहिलो हुँदै उपाधिमा कब्जा जमाएका थिए ।Prize_Dance उनीहरु मेलबर्नको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी थिए भने दोश्रोमा क्वीन्सल्याण्डका सुश्रद्धा प्रधान, जयन्त बोहरा, जीवन गुरुंग र राज खनालले उपाधिमाथि कब्जा जमाए । उनीहरुलाई प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्रकुमार लम्साल, एनआरएन आईसीसी सदस्य ईश्वर कुईकेल, नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष मोहन शर्मा काफ्ले, आयोजक समितिको संयोजक केशव शर्मा, सदस्य रजनी खड्का, राजन कोइराला, नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डकी सांस्कृति संयोजक सञ्चिता कोइराला, एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेत, सचिव सन्तोष कुँवर, प्रमुख गायक ओमविक्रम विष्ट, प्रायोजकमध्ये फाइनान्स कन्सेप्टका कमल गुरुंग र एक्सपर्ट एजुकेशन क्वीन्सल्याण्डकाका सागर अर्याललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमका अन्य प्रायोजक, सहयोगी संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
शेष घले विशेष अतिथि
एनआरएनका अध्यक्ष शेष घले कार्यक्रमको विशेष अतिथिको रुपमा प्रतियोगितामा सहभागी हुनुभएको थियो । अध्यक्ष घले र राजदूत रुद्र नेपालले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिता शुभारम्भ गर्नुभयो । Shesh_Danceकार्यक्रममा बोल्दै घलेले देशभन्दा टाढा रहेर नेपाली भाषा, संस्कृति र साहित्यको जगेर्ना गर्ने कार्य वास्तवमै प्रशंसनीय भएको बताउनुभयो । यस्तो कार्यलाई निरन्तरता दिनुपर्ने र त्यसमा आफ्नो साथ समर्थन र सहयोग रहने घलेको भनाई थियो । नेपालमा भूकम्प पीडितका निम्ति आवास र नाकाबन्दीका कारण कठिनाई व्यहोरी रहेकाहरुको सहयोगका लागि अभियान सञ्चालन गरेर भर्खरै अष्ट्रेलिया आइपुग्नुभएका घलेले यस किसिमको कामका लागि एकताबद्ध प्रयास अघि बढाउनु आवश्यक भएको बताउनुभयो ।
निर्णायक मण्डलको भूमिका
ब्रिसवेन कन्भेन्सन एण्ड एक्जीविसन सेन्टरको सुविधासम्पन्न हलमा गरिएको कार्यक्रममा निर्णायक मण्डलमा हुनुहुन्थ्यो नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं नृत्य प्रशिक्षक नारायणदेवी प्रधान र राधेश्याम प्रधान । Dance Judgeयस्तै स्थानीय रुपमा चर्चित हाँस्य अभिनेता एवं नृत्य निर्देशक भूपेन्द्र चुडाल पनि निर्णायक मण्डलमा हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै चुडालले अत्यन्तै गाह्रो काम भएपनि निष्पक्ष भएर निर्णय दिएको बताउनुभयो । कलाकारले साना साना कुरामा ध्यान दिनुपर्ने प्राज्ञ नारायणदेवी प्रधानले बताउनुभयो । नेपालदेखि आएर पनि यस किसिमको प्रतियोगितामा सहभागी हुन पाउनु खुशीको कुरा भएको उहाँको भनाई थियो । निर्णायकहरुले कुर्सीमा बसेर अरु प्रतियोगीको कलाको परख गर्ने काम मात्र गरेका थिएनन् प्राज्ञ नारायणदेवी प्रधानले भैरवकाली नृत्य प्रस्तुत गर्नुभएको थियो । जसलाई पूरै हलले ताली बजाएर स्वागत गर्यो भने संयुक्त रुपमा प्रधान दम्पत्तिले प्रस्तुत गरेको बज्रयोगिनी नृत्य काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव देखाउन सफल थियो । यसैगरी हाँस्य अभिनेता तथा नृत्य निर्देशक चुडालले आफ्नो प्रस्तुतिबाट उपस्थित दर्शकमा अमिट छाप छोडेका थिए ।
सविना र हिमांशुले स्टेज तताए
अष्ट्रेलियामा विरलै हुने कार्यक्रममध्ये एक थियो दुई वर्षको अन्तरालमा हुने नेप्लीज डान्स प्रतियोगिता । चौथो पटक आयोजना गरिएको यस कार्यक्रमको सञ्चालन न्यूज २४ टेलिभिजनकी कार्यक्रम निर्माता तथा वरिष्ठ न्यूज एंकर सविना कुँवर र हिमालय टेलिभिजनको चर्चित कार्यक्रम म्युजिक स्टेशनका पूर्व एंकर हिमांशु सिंह प्रधानले गरेका थिए । ANCHOR_FINALयसअघिको औपचारिक उद्घाटन कार्यक्रम भने भरत पौडेल र अनिशा ढुंगानाले सञ्चालन गरेका थिए । यस पटकको नेप्लीज डान्स प्रतियोगिता सविना कुँवर र हिमांशु सिंह प्रधानको परिपक्व, सन्तुलित र मनोरञ्जनात्मक सञ्चालनका कारण पनि स्मरणीय रह्यो । कार्यक्रममा उपस्थित दर्शकहरुलाई एकक्षण पनि ध्यान अन्यत्र मोड्न नदिई उनीहरुले सन्तुष्ट तुल्याएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण एमएनटीभी अष्ट्रेलियाले गरेको थियो । ब्रिसबेनमा आयोजित प्रतियोगितास्थल पुग्न नसक्ने अष्ट्रेलियाका विभिन्न राज्यका सैयौं दर्शकले यसको प्रत्यक्ष प्रशारण मार्फत आनन्द उठाएका थिए । यससँगै मिडियाको माध्यमबाट सहयोग गर्ने विभिन्न प्रकाशनगृह र प्रोडक्सन हाउसहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतियोगिताको आयोजना नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड, एनआरएन अष्ट्रेलियाले गरेका हुन् ।
(कार्यक्रमका थप फोटोका लागि हाम्रो फेसबुक पेज हेर्दै गर्नुहोला ।)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?