डाबर नेपालमा अख्तियारको छापा
वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छापामारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट छ जनाको टोलीले सुक्खा बन्दरगाहमा रहेको डाबर नेपाल प्रालिको ९० कन्टेनर जुस, च्यवन प्रास र पाचनचूर्ण नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले म्याद गुज्रिएका जुस, च्यवनप्रास र पाचनचूर्ण भारतको दिल्ली निर्यात गर्नका लागि ड्राइपोर्टमा भण्डारण गरेको सूचनाका आधारमा छापामारी गरिएको टोलीमा सहभागी प्रहरी नायब उपरीक्षक हिमाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बन्दरगाहमा रहेका ९० कन्टेनरमध्ये आज १२ वटालाई चेकजाँच गरी परीक्षणका लागि नमुना सङ्कलनसमेत गरेको बताउनुभयो । ड्राइपोर्टमा रहेका डाबरका सबै ९० वटा कन्टेनर चेकजाँच गरेपछि मात्रै सिल गर्ने की नगर्ने भन्ने विषयमा निर्णय गरिने नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, अख्तियारको टोलीले बाराको रामपुर टोकनीस्थित डाबर नेपालको उद्योगमा पनि आजै छापा मारेर चेकजाँच गरिरहेको छ । यसैगरी, हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा आएको अख्तियारको टोलीले वीरगन्जको गण्डकचोकस्थित डाबर नेपाल उद्योगको भगिनी संस्था लुना ट्रेडिङको गोदाममा समेत छापामारेर चेकजाँच गरिरहेको छ ।