सभामुखले बोलाएको बैठकमा पनि शीर्ष नेताले देखाएनन् गम्भीरता
लामो समयदेखि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले आयोजना गर्नुभएको प्रमुख दलको बैठक बिनानिष्कर्ष सकिएको छ । सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको प्रमुख दलको बैठकमा नेपाली काँग्रेसले संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई सँगै कार्यसूचीमा राख्नुपर्ने धारणा राखेको थियो । यस्तै सत्तारुढ दलले भने भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनसम्बन्धी विधेयकलाई सदनमा पहिलो कार्यसूचीका रुपमा राख्ने र सोलगत्तै संविधान संशोधनसम्बन्धी विधेयक राखेर समस्याको समाधान गर्ने बताएको थियो । तर दुवै विधेयकलाई सँगै प्रस्तुत गर्नुपर्ने काँग्रेसका नेताको अडानका कारण आजको बैठक पनि निष्कर्षमा पुग्न नसकेको हो । तराई मधेसमा आन्दोलनरत दलले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत गर्न अवरोध नगर्ने बताइरहेका बेला काँग्रेसले अवरोध गरेको भन्दै सत्तारुढ दलका नेताले आपत्ति प्रकट गर्दै आउनुभएको छ । संविधान संशोधनसम्बन्धी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको विधेयकलाई प्रमुख दलले समर्थन गरिसकेका छन् । तर पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी विधेयकसँगै प्रस्तुत हुनुपर्ने काँग्रेसको अडानले सदनको कारबाही लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक पेस भए सदन अवरुद्ध गर्ने बताउँदै आएको छ भने काँग्रेसले सो विधेयक प्रस्तुुत नगरी नछाडे अवस्था आएपछि आज प्रमुख दलको बैठक आयोजना गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले लगातार अवरुद्ध हुँदै आएको संसद् सञ्चालन गर्ने फरक फरक विकल्पमाथि सकारात्मक छलफल भएको जानकारी दिनुभयो । मङ्गलबार अपराह्न १ बजे बस्ने संसद्को बैठक अगाडि नै सदन सञ्चालन गर्ने विभिन्न विकल्पका बारेमा तीनै दलका शीर्ष नेताले जानकारी गराउँछौँ भनेर जानकारी गराउनुभएको उहाँको भनाइ छ । सभामुख घर्तीले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्ष दुवैले भोलिदेखि नै संसद् सञ्चालन गर्छौं भन्नुभएको छ । म त्यसमा विश्वस्त छु ।” सदनमा पेस गरिएका दुवै विधेयक महत्वपूर्ण रहेको दल सहमतिमा पुग्छन् भन्ने विश्वास आफूलाई रहेको उल्लेख गर्दै उहाँले संविधान संशोधन र भूकम्पको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक दुवै एकैपटक अघि बढाए पनि हुने र सहमति हुन्छ भने छोटो समयको अन्तरालमा दुईमध्ये एकलाई अघि बढाए पनि हुने धारणा आफूले राखेको बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सदन खुलाउने विषयमा सबै कोणबाट सकारात्मक छलफल भएको जानकारी दिँदै सदन खुलाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरिएको बताउनुभयो । उहाँले काँग्रेसका तर्फबाट पार्टी सभापति एवम् संसदीय दलका नेता सुशील कोइराला आजको बैठकमा सहभागी नहुनु भएकाले आजको बैठकमा उठेका सबै विषय जानकारी गराउने र भोलि सदन सुरु हुनुभन्दा पहिल्यै सहमति गर्छौं भन्ने विश्वास दिलाउनुभएको उल्लेख गर्नुभयो । बैठकमा काँग्रेसका प्रतिनिधिले दुवै विधेयकसँगै राख्नुपर्नेमा जोड दिएको जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले एकैदिन फरक फरक समयमा बैठक राखेर दुईवटै विधेयक अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख सुवास नेम्वाङलगायत उपस्थित हुनुहुन्थ्यो । काँग्रेस सभापति सुशील कोइराला अस्वस्थताका कारण अनुपस्थित हुनुभएको थियो ।