पुनःनिर्माण विधेयक र मधेस आन्दोलन चाँडो समाधान गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले जाडो बढ्दै गएको अवस्थामा भूकम्पपछिको पुनःनिर्माण विधेयकसम्बन्धी र मधेस आन्दोलनबाट उत्पन्न समस्या जतिसक्दो चाँडो समाधान गर्र्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा साँझ सत्तारुढ र आन्दोलनकारी मधेसकेन्द्रित दलका शीर्ष नेताहरुलाई स्वागत गर्दै उहाँले मुलुकका बग्रेल्ती समस्या समाधान गर्न सबै सम्बद्ध पक्षसँग छलफल एवं संवाद गर्न आह्वान गर्नुभयो । सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चासँगको परिणामविहीन वार्ता, भूकम्पपीडितको दयनीय अवस्था, पुननिर्माण प्राधिकरणसम्बन्धी विधेयकको स्थिति, आपूर्ति व्यवस्थाको असहजता, करिब एक महिनादेखि व्यवस्थापिका–संसद्मा भएको अवरोध, संविधानले समयबद्ध रूपमा सम्पन्न गर्ने कार्यहरूको सुरुआतसम्म हुन नसकेको र स्थानीय निकायको निर्वाचनको सन्दर्भ समेत उठ्न नसकेको लगायत समसामयिक विषयमा जिज्ञासा राख्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिले समसामयिक विषयमा राजनीतिक दलहरुको विश्लेषण सुन्न र उनीहरुलाई केही सुझाव दिन दलका नेताहरुलाई बोलाउनुभएको जानकारी दिनुभयो । एकीकृत नेकपा(माओवादी)का नेता नारायणकाजी श्रेष्ठले दुवै समस्यामा राजनीतिक दलहरु गम्भीर रहेको कुरा आफूहरुले राष्ट्रपतिलाई अवगत गराएको बताउनुभयो । मोर्चाका नेता महन्थ ठाकुरले मधेस आन्दोलन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी यथार्थलाई केही दलहरुले स्वीकार नगरेकाले समस्या रहिरहेको बताउनुभयो ।सो अवसरमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र महासचिव पोखरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष श्रेष्ठ, मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र राप्रपा नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो । भेटका अवसरमा सहभागी नेताहरूले पनि समसामयिक परिस्थितिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।