अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र युवाहरु समेट्न मेलबर्नमा अर्को संगठन
अष्ट्रेलिया र नेपालका युवाहरुलाई समेट्नका लागि मेलबर्नमा नयाँ संगठन खुलेको छ । नेपाल्ी युवा र विद्यार्थीहरुलाई प्रोत्साहित र एकताबद्ध गर्ने उद्देश्य राखिएको नयाँ दर्ता गरिएको नेप्लीज युथ एशोसिएसनले जनाएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै गैरनाफामुखी र सामाजिक संस्थाका रुपमा क्रियाशिल रहने र नेपाली कला, संस्कृति र चाडपर्वहरुको अष्ट्रेलियामा संरक्षण र प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेको जनाएको हो । यस्तै समान उद्देश्य भएका अन्य संघसंस्थासँग समन्वय र सहकार्य गरी अघि बढ्ने योजना पनि संस्थाले बनाएको विज्ञप्तिमा जनाइएको छ । एशोसिएसनको संस्थापकहरुमा श्रीकृष्ण सिलवाल, सुमन देउजा, सञ्जयकुमार साह, सरोज खनाल र उज्वल खनाल रहेका छन् । संस्थापकमध्येका एक श्रीकृष्ण सिलवालले एमएनटीभीसँग कुरा गर्दै अहिले अस्तित्वमा रहेका संघ संस्थाले युवाहरुको वास्तविक भावना समेट्न नसकेकोले आफुहरु अघि बढेको बताए । “युवा र विद्यार्थीहरुलाई समेट्न खासै केही भएको छैन । समेट्ने भनिएका कार्यक्रमहरुमा समेत उनीहरुको सहभागिता एकदमै न्यूज हुन्छ । यसैले हामीले त्यो कमीलाई पूरा गर्न संस्था बनाएका हौं । यो सबैको संस्था हो । सबै युवाहरुलाई ऊर्जा र उत्साहका साथ सहभागी हुन हामी आह्वान गर्दछौं ।” उनले भने । सिलवालका अनुसार संस्थाको सदस्य बन्नका लागि अनलाईनबाटै आवेदन दिने र त्यहीँबाट स्वीकृत गर्ने प्रक्रिया समेत निर्माण गरिएको छ । “सुरुको वर्ष सदस्य बन्नका लागि कुनै शुल्क नलिने निर्णय पनि हामीले गरेका छौं ।”