एनआरएनले अष्ट्रेलियाबाट २ टन सर्जिकल सामग्री नेपाल पठाउँदै, सरकारी अस्पतालमा दिइने
एनआरएनले अष्ट्रेलियाबाट अपरेशन थियटरसहित अस्पतालका विभिन्न युनिटहरुमा प्रयोग हुने २ टन चिकित्सकीय उपकरणहरु पठाउने भएको छ । मंगलबारबाट सुरु हुने एयर कार्गोमार्फत सामान पठाउने प्रक्रिया चार पटकमा सकिनेछ । यी सामग्रीहरुको बजार मूल्य १ लाख अष्ट्रेलियन डलरभन्दा बढी रहेको बताइएको छ । नेपालमा अघोषित नाकाबन्दीका कारण विभिन्न औषधि र सर्जिकल सामाग्रीहरुको अभाव हुन थालेपछि एनआरएनले थालेको औषधि सहयोग अभियान अन्तर्गत नै यसलाई पनि अघि बढाइएको एनआरएनकी प्रवक्ता रञ्जु वाग्लेले बताउनुभयो । उहाँका अनुसार, डा. रेखा गुरुंगले यहाँको मल्टीगेट कम्पनीले यी सामग्री नेपालमा दिन चाहेको बताउनुभएको थियो । डा. गुरुंगकै पहलमा एनआरएनसँग सम्पर्क भएपछि करिब एक महिनाको गृहकार्यपछि अहिले यो काम अन्तिम चरणमा पुगेको हो । अष्ट्रेलियाबाट नेपालसम्म सामान पठाउन निकै महँगो हुने भएका कारण यसअघि विभिन्न राहत सामग्रीसमेत यहीँ थन्किएको अवस्थामा विमान र कार्गो कम्पनीहरुसँग सम्पर्क गर्न, एनसीसी, आईसीसीसँग समन्वयात्मक पहल गर्ने कार्यमा एनआरएन भिक्टोरियाकी दिपा राई, संयोजक केशव कंडेल र सचिव टोनु घोतानेले काम गर्नुभएको थियो । अघिल्लो पटक मल्टीगेट कम्पनीबाट नै भूकम्प पीडितका लागि पठाइएको सामग्री त्यसमा तिर्नुपर्ने १ प्रतिशत कर तिर्ने सम्बन्धित संस्था नभएपछि नेपालको विमानस्थलमै अलपत्र परेको थियो । तर, यस पटक भने एनआरएनले पहल लिएपछि यसका निम्ति आवश्यक पर्ने रकमको जोहो पनि भइसकेको छ । एयर कार्गोमार्फत सामान पठाउनका लागि एनआरएन भिक्टोरियाले ५ हजार दिने भएको छ । यस्तै एनआरएन आईसीसी सदस्य धर्मराज अधिकारीले १ हजार डलर दिने हुनुभएको छ । नेपालमा यी सामग्री यतिबेला आवश्यक छ कि छैन भन्ने विषयदेखि त्यहाँको स्वास्थ्य मन्त्रालयसम्म समन्वय गर्ने कार्य भने एनआरएन प्रवक्ता रञ्जु वाग्ले र आईसीसी सदस्य जमुना घलेले गर्नुभएको हो । एमएनटीभीसँग कुरा गर्दै प्रवक्ता वाग्लेले भन्नुभयो, “करिब एक महिनाभन्दा बढीको पहलपछि यो कार्य सफल भएको हो । यसबिचमा हामीले डा. भगवान कोइरालालाई सबैभन्दा पहिले सम्पर्क गर्यौ, उहाँले यी सामग्री नेपालको अस्पतालहरुमा यतिबेला आवश्यक छन् भनेपछि प्रक्रिया अघि बढ्यो । स्वास्थ्य मन्त्रालयका महानिर्देशक बालकृष्ण खकुरेलले पनि स्वीकृत गर्नुभयो ।” यी सामान काठमाडौं पुगेपछि आवश्यकता हेरी विभिन्न सरकारी अस्पतालमा पठाउने तयारी छ ।
२ टन सामान एकै पटक पठाउन सम्भव नभएपछि यसलाई चार भागमा बाँड्नका लागि गएको शुक्रबार एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालको नेतृत्वमा एक टोलीले कम्पनीको गोदाममा पुगेर यसलाई ५ सय किलोको चार कन्टेनरमा छुट्याएको छ । यसो गर्दा सामानको कार्गो शुल्क पनि कम लाग्ने भएको छ । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालको नेतृत्वमा युवा संयोजक विजय पोखरेल, आईसीसी सदस्य केशव सापकोटा, न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलिया कोषाध्यक्ष डिला खरेल, पब्लिक रिलेशन अफिसर समिम अनवर, सदस्यहरु प्रिती शर्मा, पञ्चु शर्मा, डा. नविना शाह, धिरज थापा लगायत हुनुहुन्थ्यो । स्वयंसेवकहरुले करिब ६ घण्टा लगाएर यो काम सम्पन्न गरेका थिए । यस विषयमा कुरा गर्दै लम्सालले भन्नुभयो, “अबको २ हप्ताभित्र नेपालमा सामान पुगिसक्छ । सबै व्यवस्था भइसकेको छ ।” यसैबीच, एनआरएनले चीनबाट मगाएको रगत राख्ने ब्लड प्याकहरुको कन्टेनर केहदिनमै नेपाल पुग्दैछ ।