बङ्गलादेशको मस्जिद आक्रमणको जिम्मेवारी आइएसले लियो
गत महिना उत्तरी बङ्गलादेशको एक मस्जिदमा गरिएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट, आइएसले लिएको छ । गत महिना भएको सो हमलामा परी एकजना व्यक्ति मारिएका थिए र अरु कैयौँ गम्भीर रुपमा घाइते भएका थिए । बङ्गलादेशको राजधानी ढाकाबाट करिब १२५ किलोमिटर उत्तरमा पर्ने शिवगञ्जमा रहेको सिया मुस्लिम समुदायको एक मस्जिदमा बिहीबार साँझको प्रार्थनाका क्रममा सो हमला भएको थियो । प्रार्थना गरिरहेका बेला केही व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी भागेका थिए । भाग्ने क्रममा उनीहरुले केही बताएका थिएनन् । टेलिभिजन फुटेजहरुले देखाएअनुुसार निकै ठूलो सङ्ख्यामा उपस्थित भएका सुरक्षाकर्मीहरुका बीचमा पनि ती हतियारधारीहरुले अकस्मात हमला गरेका थिए । उक्त मस्जिद परिसरमा रगत लत्पतिएका दृश्यहरु पनि ती टेलिभिजनहरुले प्रशारण गरेका थिए । प्रहरीले सो हमलामा परी उक्त मस्जिदका अधिकारी मारिएका र प्रार्थनामा रहेका तीनजना नराम्रारी घाइते भएका जानकारी दिएको छ । सो आक्रमणको आइएस समूहले जिम्मेवारी लिएको जानकारी दिइसकेको छ । यस आक्रमणको जिम्मेवारी लिएसँगै बङ्गलादेशमा पनि आइएसको उपस्थिति देखिएको पाइएको छ । बङ्गलादेशमा पनि आइएसले यसरी आक्रमणको जिम्मेवारी लिएको यो पहिलो पटक भएको बताइएको छ ।