तराई–मधेसमा आन्दोनलका क्रममा भड्काउमा नलाग्न नेता नेपालको अपिल
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले तराई–मधेसमा आन्दोनलका क्रममा भड्काउमा नलाग्न अपिल गर्नुभएको छ । नेता नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी आइतबार रौतहट जिल्लाको गौर नगरपालिकामा आन्दोलनकारी एवम् सुरक्षाकर्मीबीच झडप हुँदा कक्षा १० मा पढ्ने विद्यार्थीको दुःखद् निधनको खबरले आफूलाई मर्माहत बनाएको र भड्काउमा नलागी सामाजिक सद्भाव राखेर आन्दोलन गर्न अपिल गर्नुभएको हो । सुरक्षाकर्मी तथा आन्दोलनकारीतर्फ कैयन व्यक्ति घाइते भएको खबरले आफूलाई स्तब्ध बनाएको भन्दै उहाँले दुःखको घडिमा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । “जनतालाई उत्पीडनबाट मुक्ति दिलाई अधिकार सम्पन्न बनाउन एमालेले आफ्नो स्थापनाकालदेखि नै अगुवाइ गर्दै आएको कुरालाई स्मरण गर्दै कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकतासहित आर्थिक समृद्धिको बाटोमा हातेमालो गरी अगाडि बढ्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अपिल गर्दछु” विज्ञप्तिमा भनिएको छ । जारी आन्दोलनमा आवश्यक संयमता अपनाउन, मानवअधिकारको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न र जनताको जीउधनको रक्षा गर्न आन्दोलनकारी एवम् सुरक्षा निकायसहित राज्यका सम्पूर्ण अङ्गलाई विशेष अपिलसमेत नेता नेपालले गर्नुभएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सभासद्समेत रहनु भएका नेता नेपालले लोकतन्त्रमा शान्तिपूर्ण विरोध र आन्दोलन गर्ने अधिकार प्रत्येक नागरिकलाई हुने भएकाले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन नहोस् भन्नेतर्फ हामी सबै सजग रहनुपर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।