संविधान कार्यान्वयन गर्न एक ठाउँमा हुनुपर्छ : नेम्वाङ
पूर्वसभामुख सुवास नेम्वाङले हिमाल, पहाड र तराईका जनता एकताबद्ध भएर नयाँ संविधानको सफल कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ भन्ने राष्ट्रव्यापी अभियानअन्तर्गत सदरमुकाममा भएको कार्यक्रममा उहाँले संविधान बनाउन एक भएका राजनीतिक दल कार्यान्वयनका बेला पनि एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । “मधेसवादी दललाई संविधानका बारेमा चित्त नबुझेको भए संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ, अब संशोधन गरेर आफ्नो कुरा राख्न मिल्छ” नेम्वाङले भन्नुभयो, “‘संसद्मा संशोधन प्रक्रियाबाट अघि बढ्नुभयो भने तपाईँहरूका जायज माग सम्बोधन हुन्छन् ।” मधेसवादी एक÷दुई व्यक्तिको दम्भका कारण मुलुकमा अप्ठ्यारो परिस्थित सिर्जना भएको बताउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले दुई तिहाइ सांसदले हस्ताक्षर गरेको संविधान मान्दिन भन्नुमा तुक छैन भन्नुभयो । अर्का सांसद केशव थापाले संविधान समावेशी, समानुपातिक प्रतिनिधित्व गर्ने खालको भएकाले संविधानमा भएका राम्रा कुरा जनतालाई बुझाउन ढिलो भएको बताउनुभयो ।