नाइजेरियामा दशलाखभन्दा बढी बालबालिका शिक्षाबाट वञ्चितः युनिसेफ
नाइजेरियमा हिंसा जारी राखेको बोको हराम नामक आतङ्ककारी संगठनका कारण त्यहाँका दशलाखभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुन पुगेका छन् । सो तथ्यांक उक्त राष्ट्रसङ्घीय बालकोष, युनिशेफले मङ्गलबार सार्वजनिक गरेको हो । सो संगठनले गरेको अनुसन्धानमा दश लाखभन्दा पनि बढी बालबालिका शिक्षाबाट वञ्चित भएको देखिएको जनाएको छ । बोको हरामको आतङ्कले गर्दा त्यहाँका बालबालिकामा त्रास छाएको तथा संरचनागत रुपमा पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेको जानकारी उसले दिएको हो । नाइजेरिया र त्यस वरपरका देशहरुमा समेत यसको प्रभावका कारण बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । यसबाट नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा पनि बालबालिकाको शिक्षा प्रभावित भएको पाइएको छ । ती देशमा कम्तीमा पनि दुई हजार वटा विद्यालय बलजफ्ती बन्द गराइएको छ । त्यसैगरी बोकोहरामले कतिपय विद्यालयलाई नै ध्वस्त बनाएका छन् भने कतिपयमा आगो लगाइदिएका छन् । युनिसेफको लागि मध्य तथा पश्चिम अफ्रिकाका निर्देशक म्यानुअल फन्टेनले जतिधेरै र लामो समयसम्म ती बालबालिका विद्यालयबाट वञ्चित भएर रहन्छन् त्यति नै उनीहरुलाई दुव्र्यवहार बढ्ने भएकोले पनि यसका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले भने– लामो समयसम्म उनीहरुलाई विद्यालयबाट बाहिर राख्दा बोको हरामले नै उनीहरुलाई सेनामा भर्ती गर्नसक्ने खतरा रहन्छ । नाइजेरियाको उत्तरपश्चिमी नगरको एक विद्यालयमा नै हमला गरी बोको हरामका लडाकूहरुले सन् २०१४ को अप्रिल महिनामा कम्तीमा पनि २७६ जना बालबालिकालाई अपहरण गरी लगेका थिए । त्यस अपहरणबाट लगभग संसार नै स्तब्ध भएको थियो । ती बालबालिकाहरुको अवस्था अत्यन्तै नाजुक भएको बताइए पनि उनीहरुले लामो समयसम्म नै अज्ञात अवस्थामा नै राखेका थिए । बोको हरामले नाइजेरियामा पश्चिमा देशको शिक्षा लागू गरेको भन्दै ती विद्यालयमाथि नै आक्रमण गर्ने गरेका छन् । उनीहरुले त्यस्तो विद्या नलिन कडा आदेश जारी गर्दै ती विद्यार्थीलाई नै अपहरण गर्नुका साथै शिक्षकहरुलाई पनि धम्की दिने र अपहरण गरी लाने समेत गरेका छन् । यो अवस्थाका कारण नाइजेरिया र आसपासका देशमा शिक्षाको अवस्था कमजोर बन्दै गएकोले यस गम्भीर अवस्थाका बारेमा सबैले सोच्नुपर्नेमा पनि युनिसेफले जोड दिएको छ ।