जनकशिक्षामा शिक्षामन्त्रीको अनुगमन, अभाव हुन नदिन निर्देशन


girirajmaniशिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तक उत्पादन कार्यबारे सानोठिमीस्थित जनकशिक्षा सामग्री केन्द्र लिमिटेडमा अनुगमन र निरीक्षण गर्नुभएको छ । मन्त्री पोखरेलले नयाँ शैक्षिकसत्र (वैशाख पहिलो साता) मा पाठ्यपुस्तकको अभाव हुन नहुने र राज्यका निकायले जिम्मेवारपूर्वक काम गर्नुपर्ने भन्दै सोहीअनुसार काम गर्न निर्देशन दिनुभयो । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पाठ्यपुस्तक उत्पादनका बारेमा मन्त्री पोखरेललाई अवगत गराउनुभएको थियो । आगामी शैक्षिकसत्रका लागि करिब तीन करोड थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिए पनि केन्द्रले कक्षा ६ देखि १० सम्मको एक करोड ७५ लाख थान पाठ्यपुस्तक उत्पादन गर्नेछ । त्यसमा हाल करिब ४० लाख थाप उत्पादन भइसकेको र उत्पादनमा अन्य कुनै समस्या नरहेकाले समयमा जिम्मेवारी पूरा गर्ने कार्ययोजना बताइयो । कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्ने जिम्मेवारी निजी प्रेसले पाएको छ । केन्द्रले वितरणको जिम्मेवारीबारे चाँडै निर्णय गर्नेछ । वितरणका लागि पुरानो साझेदार साझा प्रकाशनले आफूले वितरणको जिम्मेवारी पाउनुपर्ने र सो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्र्ने भनी संसदीय समिति र शिक्षा मन्त्रालयमा प्रतिबद्धता व्यक्त गरेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?