सकियो नेपालको यस पटकको साफ फुटबल यात्रा, भारतसँग पराजित
दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल आयोजक भारतसँग ४–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि पहिलो खेलमा श्रीलङ्कासँग १–० ले नतिजा सुम्पिएको नेपालका लागि भारतसँगको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जित्नैपर्ने दबाब थियो । सोहीअनुसार केरलास्थित त्रिवेन्द्रममा आज नेपालले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । नेपालले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै १–० को अग्रता लिएको थियो । नेपालका लागि विमल घर्तीमगरले गोल गर्दै अग्रता दिलाएका थिए । रोहित चन्दले दिएको पासलाई नवयुग श्रेष्ठले प्रहार गरेको रिबाउण्डमा अनमार्क रहेका विमलले गोल गरेका हुन् । त्यसपछि गोल खाएर सम्हालिएको भारत २६औँ मिनेटमा रोलिन बोर्गिसको गोलबाट खेलमा फर्कियो । त्यसपछि दुवैतिरबाट केही राम्रा आक्रमण सफल हुन सकेनन् र मध्यान्तरसम्म खेल १÷१ को बराबरीमा सकियो । मध्यान्तरपछिको ६६औँ मिनेटसम्म नेपालले आफ्नो आक्रामक खेल जारी राखेको थियो । तर कप्तान सुनिल क्षेत्रीले ६८औैँ मिनेटमा गोल गर्दै नेपालको सेमिफाइनल यात्रा कठिन हुने सङ्केत दिए । त्यसपछि पनि नरोकिएको भारतका लागि युवा खेलाडी लालिञ्जुवाला छान्टाले ८१ र ९०औँ मिनेटमा थप दुई गोल गरेपछि नेपालको यात्रा टुङ्गियो । नेपालले दुई वर्षअघि घरमै भएको साफ च्याम्पियनसिपमा भारतसँग २–१ ले पराजित गरेयता ११औँ खेलसम्मको गोलविहीन नेपालले आज यात्रा टुङ्ग्याएको छ । त्यसलाई विमलले खेलको सुरुवातमै गोल गरेपछि नेपालको गोलविहीन यात्रा टुङ्गिएको हो ।