तीन महिनाभन्दा बढी भइसक्यो नाकाबन्दीको, अझै प्रधानमन्त्री भन्छन् १० दिनमा सकिन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमासाँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक/अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नु भयो । नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने बताउनुभयो । कालोबजारीका सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने जानकारी गराउनुभयो । प्रधानमन्त्रीसमक्ष सोही अवसरमा भारतको अररिया बस्ने सुनील बेगवानी र उहाँकी आमाले आफ्नी छोरी अनु कोचरको छ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी ज्ञापनपत्र बुझाउनु भयो । विष सेवनका कारण मृत्यु भएको भनिएको तर उहाँहरुले छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रुपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिनुभयो ।