क्वीन्सल्याण्डमा सार्कको आक्रमणबाट एक व्यक्ति घाइते, प्रत्यक्षदर्शी भन्छन् यस्तो कहिल्यै भएको थिएन
क्वीन्सल्याण्डको ग्रेट किपेल टापु नजिकै एक सार्कको आक्रमणमा एलान कन्ट्रीम्यान घाइते भएका छन् । उनको पाखुरामा गम्भीर चोट लागेको छ । समुद्री तटको नजिकै रहेको बेला उनीमाथि अचानक सार्कले आक्रमण गरेको थियो । उनले उक्त आक्रमणमा सार्कसँग जुधेर बाँच्न सफल भए पछि उनका साथीहरुले पानीबाट एलानलाई निकालेका थिए । यस लगत्तै उनको प्राथमिक उपचार गरिएको थियो भने उनलाई अहिले ब्रिसबेनस्थित रकह्याम्पटन बेस हस्पीटलमा उपचारकालागि राखिएको छ । उनको अवस्था स्थीर भएको चिकित्सकहरुले बताएका छन् । आपतकालीन सेवाका कर्मचारीहरु आफुहरुले मात्र होइन विगत २५ वर्षदेखि काम गर्ने वरिष्ठ कर्मचारीले पनि यस क्षेत्रमा सार्कको आक्रमणबारे नसुनेको बताएका छन् । उनीहरु भन्छन्, “यो अचम्मको घटना भएको छ । हामीले यस्तो पहिले सुनेका पनि थिएनौं ।” आक्रमणकारी सार्क तीन मिटर लामो भएको प्रत्यक्षदर्शीले बताएका छन् ।