वार्ताका नाममा मोर्चालाई गलाउने रणनीति भन्दै सद्भावनाको आन्दोलन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीले अलग्गै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको पूर्वघोषित कार्यक्रम सकिने दिन पुस १९ देखि २७ गतेसम्म ९ दिनका लागि सद्भावना पार्टीले अलग्गै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सद्भावना पार्टीले सरकार वार्ताका नाममा मोर्चालाई गलाउने रणनीतिमा लागेका कारण आफूले अलग्गै कार्यक्रम घोषणा गरेको बताएको छ । सद्भावनाका नेताहरुले अलग्गै आन्दोलन अन्र्तगत धार्मिक स्थलमा प्रार्थना सभादेखि साइकल र मोटरसाइकलमा कालो झण्डा राख्ने, प्रमुख दलका मधेशी सांसद्हरुलाई आन्दोलनमा सहभागी हुनका लागि दवाब दिन हस्ताक्षर संकलन गर्ने, उपवास बस्ने लगायतका कार्यक्रम रहेको बताएका छन् । मोर्चाका केही जिम्मेवार नेताहरुले पुस १९ पछि सीमा क्षेत्रमा केन्द्रीत धर्ना बन्द गर्ने संकेत गरिरहेका तथा सद्भावनाका अध्यक्ष राजेन्द्र महतोमाथि विखण्डनवादी अभिव्यक्ति दिएको आरोप लगाइरहेका बेला सद्भावनाले अलग्गै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सद्भावनाका महासचिव मनिष सुमनले आफ्नो पार्टीले घोषणा गरेका आन्दोलनका कार्यक्रममा मोर्चाका अन्य घटकले सहयोग गर्ने दाबी गर्नुभयो ।