आजको बैठक निर्णायक हुने प्रचण्डको भनाई, सरकारको विकल्प नखोजेको दाबी
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेश आन्दोलन सम्बोधनका विषयमा सत्तारुढ, मुख्य विपक्षी र आन्दोलनरत दलहरु सहमतिको नजिक पुगिसकेको दाबी गर्नुभएको छ । पार्टीको एक नम्बर प्रदेशको पहिलो बैठकको उद्घाटनका लागि शनिबार इटहरी पुगेका एमाओवादी अध्यक्ष दाहालले संसद्मा छलफलको क्रममा रहेको संविधान संशोधन विधयकलाई परिमार्जन गर्ने र प्रदेशको सीमांकन राजनीतिक समितिमार्फत केही समयभित्र हेरफेर गर्ने गरी सहमति हुन लागेको दाबी गर्नुभयो । उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागका सम्बन्धमा आइतबार विहान सरकार सत्तारुढ दल, प्रमुख प्रतिपक्षी काँग्रेस र मोर्चाबीच छलफलको कार्यक्रम तय गरिएको जानकारी दिंदै छलफलमा समझदारी जुटाउन प्रयास गर्ने बताउनुभयो । एमाओवादी अध्यक्ष दाहालले बैठक उद्घाटनका क्रममा मन्त्रीपरिषद् विस्तार र मन्त्रालयहरु फुटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ । उहाँले खासगरी पार्टीले सम्हालेका कृषि विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर मन्त्रीहरु थप गरिएकामा प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको हो । बैठकपछि संचारकर्मीसँगको कुराकानीमा एमाओवादी अध्यक्ष दाहालले मन्त्रालय विभाजन र मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल भएको तर सरकार नै छोड्ने कुरा भने आफूले नगरेको बताउनुभयो । एमाओवादीको एक नम्बर प्रदेशको पहिलो बैठक दुई दिनसम्म चल्ने छ ।