संविधान संशोधनका नाममा अङ्गीकृत नागरिकलाई वंशज नागरिकसरहको अधिकार दिनु नहुने
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधान संशोधनका नाममा मधेसीलाई छुट्टै राज्य र अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिन नहुने बताउनुभएको छ । नगरकोट नगरपालिकाले आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताका माझमा’ राष्ट्रव्यापी प्रचार अभियानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्ने बेला भएको छैन, संशोधनका नाममा अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिए मधेसवादी दलले मधेसको छुट्टै प्रदेश बनाउने दाबी गर्नुुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउन नहुने उल्लेख गर्दै उहाँले बहुमत जनसङ्ख्या तराईमा भएको भन्दै बहुमतको प्रस्ताव मान्नुपर्छ भन्ने आधार गलत भएको बताउनुभयो । ठूला दलका नेता विगतमा भारतसँग डराउँदा अहिलेको परिणाम भोग्नुपरेको बताउँदै उहाँले भारतसँग कुनै हालतमा सरकार झुक्न नहुने औँल्याउनुभयो । नेपालको प्रशासनमा समेत भारतले हस्तक्षेप गरेको उल्लेख गर्दै उहाँले नेपालका प्रशासनिक क्षेत्रदेखि सुरक्षा निकायमा समेत भारतले कर्मचारी घुसाएको बताउनुभयो । अध्यक्ष विजुक्छेले भन्नुभयो– “नेपालको प्रशासनिक क्षेत्रका ठूलाठूला पदमा २२ हजार यस्ता कर्मचारी छन्, जो नेपाल सरकार र भारत सरकार दुवैको तलब खाएर भारतका लागि काम गर्छन् ।” त्यस्ता कर्मचारीलाई सर्पको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो– “हामीले तकियामुनि सर्प राखेर सुतेका छौँ, ती सर्पले जुनसुकै बेला डस्न सक्छ, सचेत हुनुपर्छ ।” कार्यक्रममा अधिवक्ता किरण न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका उपाध्यक्ष सोम (शर्मा) बजगार्इंलगायतले संविधान कार्यान्वयनमा सबैको साथ हुनुपर्नेमा जोड दिनुभयो ।