महाधिवेशनको चटारोमा रहेको काँग्रेस कार्यालयमा अनशन नै अनशन


congressसंसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ । काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशन बस्नुभएको छ । उहाँ डोल्पामा पार्टीको सङ्गठन कमजोर भएको र नयाँ सदस्यता थप गरेकामा पार्टीले सदर नगरेको भन्दै अनशन बस्नुभएको हो । यसैगरी काँग्रेसका सोलुखुम्बुका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १० दिनदेखि रिले अनशन बस्नुभएको छ । केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता र अरू पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाउनुभएको छ । रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै नौ दिनदेखि रिले अनशन थाल्नुभएको छ । छ निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील बाँडेको उहाँले आरोप लगाउनुभयो । क्रियाशील सदस्यलाई मान्यता नदिनुपर्ने अडानका साथ रिले अनशन थालेको केही दिनपछि सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यलाई नै आधिकारिता दिनुपर्ने भन्दै पाँच दिनअघिदेखि रिले अनशन थाल्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?