प्रधानमन्त्री ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने परराष्ट्रमन्त्रीको खुलासा
चार महिना लामो नाकाबन्दीका कारण भारतसँगको सम्बन्ध चिसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाटै आफ्नो विदेश भ्रमण सुरु गर्नुहुने भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले बुधबार एक कार्यक्रममा प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने पुष्टि गर्नुभएको छ । रिपोर्टस क्लबले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले प्रधानमन्त्री ओलीले भारत र चीन दुवैको भ्रमण गर्ने तर भ्रमणको सुरुवात भने भारतबाट हुने बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएकाले त्यसैलाई आधार मानेर परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अगाडि बढाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले गर्ने भारत भ्रमणको मितिका बारेमा भने स्पष्ट पार्नुभएन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सरकारले भारत र चीन दुवैसँगको सम्बन्धलाई आपसमा दाँजेर नहेर्ने बताउनुभयो । उहाँले दुवै मुलुकसँगको सम्बन्धको आफ्नै महत्व रहेको भन्दै सरकारले अब आर्थिक कुटनीतिलाई बढ्ता प्रााथमिकता दिने बताउनुभयो । उहाँले आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन संरचनागत र नीतिगत सुधारको काम अगाडि बढाइसकेको समेत बताउनुभयो । उहाँले विभिन्न मुलुकमा रिक्त राजदूतको पदपूर्ति चाँडै गरिने पनि बताउनुभयो ।
स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले दुई वर्षभित्र मुलुकका सबै गाविसमा मोटरबाटो पु¥याउने दाबी गर्नुभयो । मुलुकका दुई जिल्ला हुम्ला र डोल्पा सदरमुकाममा अझै मोटरबाटो पुग्न सकेको छैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले २ वर्षभित्र सबै गाविसमा मोटरबाटो पु¥याउने लक्ष्यसहित स्थानीय विकास मन्त्रालयले कार्ययोजना तर्जुमा गरिरहेको बताउनुभयो । हाल देशभर ३ हजार १ सय ५७ वटा गाविस छन् ।