बङ्गबन्धु कप खेल्न नेपाली टोली बङ्गलादेशतर्फ प्रस्थान
बङ्गबन्धु गोल्ड कप खेल्न बङ्गलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान मानन्धरलगायतले खेलाडी तथा पदाधिकारीलाई सफलताका लागि शुभकामना दिनुभयो । बङ्गलादेश प्रस्थान गर्ने टोलीमा २३ खेलाडी र सात पदाधिकारी रहने छन् । अधिकाङ्श २३ वर्षमुनिका खेलाडी समावेश भएको टोलीको गोलकिपरमा एलान न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् । त्यस्तै, मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् ।
टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन, गोलकिपर प्रशिक्षकमा उपेन्द्रमान सिंह तथा व्यवस्थापकमा विराटजङ्ग शाही छन् । मुख्य प्रशिक्षक पेट्रिक एसेम्स पारिवारिक कारण देखाउँदै बेल्जियमबाट नफर्किएकाले महर्जनलाई जिम्मेवारी दिनुपरेको सिइओ तुलाधरले जानकारी दिनुभयो । उहाँले एसेम्सको स्क्वार्डमा रहेका केही खेलाडी घाइते भए पनि नयाँ प्रशिक्षण टोलीले विकल्पमा उस्तै खेलाडी छनोट गरेकाले वर्तमान टोली बलियो रहेको दाबी गर्नुभयो । नेपालको समूहमा मलेसिया, आयोजक बङ्गलादेश र श्रीलङ्का समावेश छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी ९ मा मलेसियासँग खेल्ने छ भने उसको दोस्रो भेट १२ तारिखमा श्रीलङ्कासँग हुनेछ । त्यस्तै नेपालको समूह चरणको अन्तिम भिडन्त १४ तारिखमा आयोजक बङ्गलादेशसँग हुनेछ ।