नेपालगञ्जमा घुससहित एक कर्मचारी पक्राउ, ८० हजार बरामद
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका योजना प्रमुख श्यामकाजी पियालाई कार्यस्थलबाटै आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार योजना प्रमुख पियाले निर्माण व्यवसायीसँग रु ८० हजार घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले घुससहित पक्राउ गरेको हो । आयोगका अनुसार योजना प्रमुख पियालाई घुस रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित प्रगतिनगरको कुर्मी टोल जाने बाटोको कुल लागत रु आठ लाख ४६ हजार ८८८ मध्ये उपमहानगरको अनुदान रकम रु पाँच लाख आठ हजार रहेको छ । यस्तै स्थानीय स्वशासन तथा सामुदायिक विकास कार्यक्रमको अनुदान रकम रु एक लाख ६९ हजार ४४४ र स्थानीय जनश्रमदान रु एक लाख ६९ हजार ४४४ गरी उपभोक्ता समितिबाट ग्राभेलिङ र ढलान गरी लागत इस्टिमेटअनुसार निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ । निर्माण कार्य सम्पन्न भएको प्रतिवेदनसहित भुक्तानी पाउन अनुरोध गर्दा नियमानुसार कार्य नगरी आलटाल गरेको र सेवाग्राहीसँग घुस मागेको आयोगको भनाइ छ ।