पठानकोटस्थित सैन्य अखडामा भारतीय प्रधानमन्त्री, आक्रमणस्थलको हवाई निरीक्षण
भारतीय प्रभानमन्त्री नरेन्द्रमोदीले शनिबार उत्तरी पंजाबको पठानकोटस्थित मुख्य सैन्य अखडाको भ्रमण गर्नुभएको छ । एक हप्ताअघि पाकिस्तानी लडाकूले सैन्य स्टेशनमा कार्यरत सात सुरक्षाअधिकारीको ज्यान जानेगरी आक्रमण गरेको यस ठाउँको प्रधानमन्त्री मोदीले भ्रमण गरी घटनाका बारेमा जानकारी लिनुभएको हो । स्रोतका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजे पठानकोट पुग्नुभएका प्रधानमन्त्री मोदीलाई भारतीय वायुसेनाका अधिकारी जे. एस. धामुनले आक्रमणका बारेमा जानकारी गराउनुभएको थियो । त्यसपछि प्रधानमन्त्री मोदीले घटनामा घाइते भएका २० जना सुरक्षाकर्मीलाई भेट्नुभएको र लगत्तै उहाँले आक्रमणस्थलको हवाई निरीक्षण गर्नुभएको थियो । प्रधानमन्त्री मोदीको भ्रमण उक्त वायुसेना अखडा वरिपरि युद्धक विमान र लडाकू हेलिकप्टरलाई तैनाद गरिएको एक दिनपछि भएको हो । चार दिन लामो भिडन्तमा छजना पाकिस्तानी लडाकू मारिएपछि नयाँ कारबाहीस्वरुप भारतले योे सुरक्षा अभियान चलाएको हो । प्रधानमन्त्री मोदीले रसिया र अफगानिस्तानको भ्रमणबाट स्वदेश फिर्ता हुने क्रममा पाकिस्तानको भ्रमण गरी उहाँका पाकिस्तानी समकक्षी नवाज सरिफको ६६औँ जन्मदिनको अवसरमा उहाँलाई भेटी शुभकामना प्रदान गरेको एक हप्तापछि पाकिस्तानी लडाकूले पठानकोटमा आक्रमण गरेका थिए । आक्रमणपछि भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षीलाई फोन गरी आक्रमणको योजना बनाउने समूह वा व्यक्तिलाई काबाहीका लागि तत्कालै ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो ।