आगामी १० वर्षमा नेपालमा समाजवादी क्रान्ति सम्भव भएको प्रचण्डको तर्क
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल टे«ड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले सो क्रान्तिलाई पूरा गर्न सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– “एमाओवादीलाई समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला भएको छ । गलत विचारको भण्डाफोर गर्दै सङ्गठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्दछ ।” नयाँ शक्तिका नाममा मुलुक, जनता, पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै डा बाबुराम भट्टराईले पार्टी मात्र त्याग गर्नुभएको होइन, उहाँले माक्र्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र कम्युनिस्ट वर्ग नै त्याग्नु भएकाले नेता तथा कार्यकर्ता भ्रममा पर्नुनपर्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो– “ संविधानको सहज कार्यान्वयन गर्नु र पार्टीलाई जीवन्त बनाउनु पहिलो कार्यभार हो, शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म विगतमा भएका कमजोरी स्वीकार गरेर जनताका बीचमा जानुपर्छ, अब कोही कसैलाई छुट छैन ।” आगामी १० वर्षमा नेपालमा समाजवादी क्रान्ति सम्भव भएको भन्दै उहाँले सोही मार्गमा प्रतिबद्ध भएर लाग्न मजदुर सङ्गठनलाई निर्देश गर्नुभयो । दुई दिनसम्म चल्ने महासङ्घको केन्द्रीय समितिको बैठकले मजदुर आन्दोलनका विभिन्न पक्षका बारेमा विशेष कार्ययोजना ल्याउने अध्यक्ष शालिकराम जमरकट्टेलले जानकारी दिनुभयो ।