इस्तानबुल हमलामा संलग्ल एक व्यक्ति सुरक्षा नियन्त्रणमा


istanbulटर्कीको पुरानोे सहर इस्तानबुलको पर्यटकीय इलाकामा भएको आत्मघाती बम हमलामा संलग्न भएको आरोपमा टर्कीले बुधबार एक व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको छ । मङ्गलबार भएको उक्त बम आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो भने अन्य १५ जना घाइते भएका थिए । अङ्काराले घटनामा २८ वर्षीय इस्लामिक स्टेट (आईएस) समूहका सिरियालीमूलका एक व्यक्तिको संलग्नता रहको बताएको छ । ऊ हालै मात्र सिरियाबाट टर्की आइपुगेको अङ्काराले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । टर्कीको सुरक्षाकर्मीले घटनापछि बुधबार यो समाचार सम्प्रेषण गर्नेे वेलासम्म देशका विभिन्न स्थानबाट ६८ जना शङ्कास्पद आईएस विद्रोहीलाई नियन्त्रणमा लिएको यहाँको राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ । तर के तिनीहरूमध्ये कसैको घटनामा संलग्नता थियो वा थिएन यसबारे छानबिन भइरहेको बताइएको छ । इस्तानबुल आक्रमणमा मारिने प्राय सबै जर्मन नागरिक भए पनि यो जर्मन नागरिकलाई नै लक्षित गरी गरिएको आक्रमण नभएकाले सबै जर्मन पर्यटकलाई आफ्नो यात्रा रद्द नगर्न टर्कीका विदेशमन्त्री एफ्कान आला र जर्मन विदेशमन्त्री थोमस डे मिजाएरले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा दुवै देशका नेताले आग्रह गर्नुभयो ।
घटनाको सुक्ष्म छानबिन भइरहेको बताउँदै जर्मन विदेशमन्त्री डे मिजाएरले हमला जर्मनीलाई लक्षित गरिएको भन्ने सङ्केत फेला नपरेको बताउनुभयो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमलापछि पहिलो प्रतिक्रियामा नै इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हमलामा सिरियालीमूलका एक व्यक्तिको संलग्नता रहेको दाबी गर्नुभएको थियो । घटनामा सिरियालीमूलका एक व्यक्तिको संलग्तना रहेको आफ्नो सरकारको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताउँदै एर्डोगानले घटनाको योजनाकार तथा समूहलाई कानुनी दायरामा ल्याई छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरिसक्नुभएको छ । सन् २०१५ को अक्टोबरमा इस्लामिक समूह (आईएस) ले दुई वटा शक्तिशाली आत्मघाती बम हमला गर्दा टर्कीमा १०२ जनाको मृत्यु भएको थियो । करिब दुई वर्ष छ महिना लामो शान्ति प्रक्रियापछि गएको जुलाईदेखि अमेरिकी नेतृत्वको संयुक्त गठबन्धनले आईएस गतिविधि नियन्त्रणको प्रयासका लागि हवाई आक्रमण गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?