पुननिर्माणमा सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायमा प्रधानमन्त्रीको आग्रह


kp oliप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा सक्दो सहयोग गर्न अन्र्तराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विहिवार अपरान्ह बालुवाटारस्थित आफ्नै निवासमा नेपालस्थित विभिन्न मुलुकका राजदूत र विकास साझेदार संस्थाका प्रतिनिधिलाई दिवाभोजमा बोलाइ पुनर्निमाणको काममा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले पुनर्निमाणको कामलाई सरकारले मुख्य प्राथमिकतामा राखेको र अन्र्तराष्ट्रिय समुदायको बलियो साथ चाहेको बताउनुभयो । उहाँले पुनर्निमाणका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले तीन महिने कार्ययोजना तयार गरिसकेको भन्दै त्यो कार्ययोजना कार्यान्वयनका लागि दातृ राष्ट्र र संस्थाबाट सरकारले निरन्तर सहयोगको आशा गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अन्र्तराष्ट्रिय समुदायका प्रनिनिधिसामु सरकारले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिरहेको पनि बताउनुभयो । उहाँले जनप्रतिनिधिको अभावमा भुकम्प गएका जिल्लाका जनताले कठिनाइ झेल्नु परेकाले सरकारले विभिन्न चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलहरुसँग छलफल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले गत वैशाखमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण प्राथमिकता प्राप्त विकास आयोजनाहरुको काम प्रभावित भएको भन्दै सीमा क्षेत्रको अवरोध हटाउने सम्बन्धमा दलहरुबीच केही समयभित्रै समझदारी हुने र त्यसपछि कामले तिब्रता पाउने बताउनुभयो । प्रधानमन्त्रीले आयोजना गरेको भोजमा अन्र्तराष्ट्रिय समुदायका प्रतिनिधिको बाक्लो उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?