पाकिस्तानमा महिलालाई दिइने मृत्युदण्ड ‘अनर किलिङ’ अन्त्य गर्ने प्रण
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा कायम रहेको अनर किलिङ (सामाजिक प्रतिष्ठासँग जोडेर प्रायः महिलालाई दिइने मृत्युदण्ड) को कुसंस्कारको अन्त्य गर्ने प्रण गर्नुभएको छ । यस्तै अनर किलिङसँग सम्बन्धित एक डकुमेन्ट्री ‘अ गर्ल इन्न द रिभर द प्राइस अफ फर्गिभनेस’ का निर्देशक सर्मिन अबिदचिन्नोएलाई सो डकुमेन्ट्री ओस्कारमा मनोनयन भएकोमा बधाई दिँदै सो प्रण गर्नुभएको हो । छोटा चलचित्रअन्तर्गत सो डकुमेन्ट्री मनोनयनमा परेको बताइएको छ । सो फिल्म यस्तै अनर किलिङ्को कारबाही पाएकी एक बालिका भाग्यबस बाँचेको कथामा आधारित छ । पाकिस्तानमा हरेक वर्ष परिवारको प्रतिष्ठामा आँच आएको निहुमा सयौँ महिलालाई हत्या गर्ने गरिएको छ । समाजमा प्रतिष्ठा राख्ने नाममा महिलाका आफन्तले उनीहरुको हत्या गर्ने गर्छन् । तर त्यसलाई इस्लामको धर्मसँग जोडेर सरकारले पनि यसरी कारबाही गर्ने व्यक्तिलाई कारबाही गर्न सकेको देखिँदैन । प्रधानमन्त्री शरिफले यस्तो प्रकृतिको कुसंस्कारको अन्त्य गरिने र यसका लागि आवश्यक परेमा कानुन ल्याइने जानकारी पनि दिनुभएको बताइएकोछ । प्रधानमन्त्रीको कार्यालायद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा उहाँले यस्तो कुसंस्कारको अन्त्यका लागि प्रतिबद्धता जाहेर गर्नुभएको बताइएको छ ।