एनआरएनको विवाद अब विधान समितिमा, विभिन्न समिति र टास्कफोर्स निर्माण
नेपालबाहिर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ एनआरएनको विवादको टुंगो लगाउने जिम्मा विधान समितिलाई दिने सहमति भएको छ । आज सम्पन्न भएको बैठकमा यस्तो सहमति जुटेको हो । अध्यक्ष शेष घलेले गरेको मनोनयनहरु विवाद परेपछि यसै विषयमा संगठन विभाजित भएको थियो । उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायतले अध्यक्षले विधान विपरित निर्णयहरु गरेको र पराजितहरुलाई पनि मनोनयन गरेको आरोप लगाउँदै लिखित असहमति जनाएका थिए । आइतबारको बैठकअघि संरक्षक जीवा लामिछानेले विधान समितिले नै यसको विधानको व्याख्या गर्नसक्ने भएकोले त्यसलाई जिम्मा लगाउने प्रस्ताव गरेका थिए । विवादका कारण लामो समयदेखि एनआरएन अन्योलमा फसेको थियो । गत नोभेम्बरमा १५ तारिखमा भएको पहिलो बैठकमा अध्यक्षले मनोनयन गरेकाहरु विधान सम्मत भएको अध्यक्ष घले समर्थकहरुको जिकिर थियो । पदाधिकारी बैठकमा यस्तो सहमति जुटेपनि यस मुद्दाको टुंगो लगाउनका लागि विधान समितिलाई जिम्मा दिने विषय अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पास गर्न बाँकी छ ।
समिति र टास्कफोर्स निर्माण
एनआरएन प्रवक्ता रञ्जु वाग्लेका अनुसार आईतबारको बैठकले विभिन्न समितिहरुको संयोजक र उपसंयोजकहरु पनि तोकेको छ । जस अनुसार उद्योग, लगानी र नेपाल प्रबद्र्धन समितिमा युरोपका क्षेत्रीय संयोजक कुल आचार्यलाई तोकिएको छ भने उद्यमशिलता र उद्योग विकास समितिमा रतनकुमार झा, नेपालको पर्यटन प्रबद्र्धन समितिमा भवन भट्ट संयोजक, महेन्द्र लम्साल र सुरेन्द्र प्रधान उपसंयोजक तोकिएका छन् । यस्तै पर्यटन प्रबद्र्धन समितिको पर्वतारोहण र पदयात्रा उपसमितिमा एसी शेर्पा संयोजक तोकिएका छन् । वैदेशिक रोजगार तथा आप्रवासी कामदार वेलफेयरमा धर्म केसी संयोजक, डीबी क्षेत्री उपसंयोजक, परोपकारी र मानवीय सहायता समितिमा उपाध्यक्ष कुमार पन्त संयोजक, नीति तथा प्रक्रिया उपसमितिको संयोजकमा महासचिव डा. बद्री केसी संयोजक, ध्रुव सुवेदी र नारायण काफ्ले उपसंयोजक, एनआरएनको आर्थिक सवलीकरण समितिमा हिक्मत थापा संयोजक, सञ्चार तथा प्रकाशन समितिको संयोजकमा प्रवक्ता रञ्जु थापा, विधान संशोधन तथा सल्लाह समितिमा हेमराज शर्मा, अनुशासन समितिमा डा. अम्बिकाप्रसाद अधिकारी संयोजक र सदस्यहरुमा ईन्द्रा वन, दिल गुरुंग, डा. द्रोण रसाईली, मेजर डम्बर घले तोकिएका छन् । यस्तै नेपाली उत्पादनको विदेशमा प्रबद्र्धन समितिमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ संयोजक तोकिएका छन् । यस्तै विधान समितिमा कुलचन्द्र गौतम संयोजक, विश्वकान्त मैनाली र लोकभक्त राना सदस्य तोकिएका छन् । यस्तै स्कील, नलेज एण्ड ईनोभेसन स्की समितिमा डा. राजु अधिकारी संयोजक र डा. प्रमोद ढकाल उपसंयोजक तोकिएका छन् । यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको पनि अन्तिम टुंगो लगाएका छ । जस अनुसार वैदेशिक रोजगार सहायता कोषको संयोजकमा अध्यक्ष शेष घले र उपसंयोजकमा श्याम तामांग, लोक तिवारी रहेका छन् । नेपाली नागरिकताको निरन्तरता प्रोजेक्टमा संयोजक राम थापा र उपसंयोजकमा खगेन्द्र जिसी तोकिएका छन् । यस्तै पाठेघर खस्ने समस्या सम्बन्धी परियोजना सञ्चालन गर्न संयोजकमा रजनी प्रधान संयोजक र उपसंयोजकमा भुमादेवी लिम्बुलाई जिम्मा दिइएको छ । खुला विश्वविद्यालयको संयोजकमा डा. प्रमोद ढकाल, महिला सशक्तिकरण परियोजनाको लागि सपिला राजभण्डारी, सार्वजनिक पुस्तकालय परियोजनाका लागि डा. नरेश कोइरालालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै बैठकले केही उपसमितिहरुको पनि संयोजक र उपसंयोजकहरु तोकेको छ ।