नयाँ वर्षको अवसरमा आयोजित झापाली समाजको क्रुज पार्टी सम्पन्न
नयाँ वर्ष २०१६ को अवसरमा झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको क्रुज पार्टी सिड्नीमा सम्पन्न भएको छ । शनिबार सिड्नीमा आयोजना गरिएको क्रुज पार्टीबाट संकलित रकम झापाल जिल्लामा शिक्षा विकासका लागि खर्च गर्ने योजना बनाइएको छ । करिब ४ सयजनाको सहभागिता रहेको क्रुज पार्टीमा झापा जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुका साथै अन्य जिल्लाका शुभचिन्तकहरु समेत सहभागी भएका थिए । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल लगायतका पदाधिकारीहरु, एनआरएनका पूर्वअध्यक्ष महेन्द्र ओली पनि सहभागी थिए । क्रुज पार्टीका क्रममा आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा बोल्दै झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले झापामा आफैं पुगेर स्थलगत अध्ययन गरेपछि त्यहाँको शिक्षाका निम्ति केही गर्नुपर्ने भावना आफुमा आएको बताएका थिए । यसैका लागि विभिन्न १० वटा विद्यालय छनोट गरी तिनमा अध्ययनरत विद्यार्थीहरुको निम्ति सहयोग गर्ने अभियान अघि बढाइएको बताउँदै अब थप १० विद्यालयलाई आर्थिक सहयोग गर्ने योजना रहेको बताए । खनालले क्रुज पार्टीलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा हाँस्य अभिनेता भुपेन्द्र चुडालले आफ्नो प्रस्तुति दिएका थिए भने बालबालिकाहरुको निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन सन्तोष सिटौलाले गरेका थिऐ भने झापाली समाजका संरक्षक एवं पूर्वअध्यक्ष दिनेश पोखरेलले बोलदै झापाको विकासका लागि यसअघि घोषणा गरिएको ५० लाखको अक्षयकोषलाई पूरा गर्ने र विद्यालय परियोजनालाई तिव्रतर रुपमा अघि बढाउने जिम्मेवारी रहेको बताए । पोखरेलले झापाली एकतालाई अझ मजबुत बनाउन यस किसिमका कार्यक्रम सहयोगी हुने पनि उल्लेख गरे । झापाली समाज अष्ट्रेलियाका सचिव रुप मैनालीले बोल्दै परोपकारी यस किसिमका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए । झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष दिपक चुँडालले दोश्रो पुस्तासम्म पनि झापाली एकतालाई अझ मतबुत बनाउन यस किसिमको कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताए । डिजे सेसनमा विभिन्न नेपाली गीतमा सहभागीहरुले मनोरञ्जन लिएका थिए । कार्यक्रम करिब ४ घण्टा चलेको थियो । पछिल्लो समय नेपाली समूदायमा क्रुज पार्टी आयोजना गर्ने क्रम बढेको छ । स्टार टुर्सले नयाँ वर्षको पूर्वसन्ध्यामा क्रुज पार्टी गरेको थियो भने अब अर्को साता नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले पनि क्रुज पार्टीको आयोजना गरेको छ ।