संविधान संशोधनको प्रस्तावलाई सच्याएर पारित गर्नुपर्छ– यादव
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्तावलाई नसच्याई पारित गरिएमा मधेस आन्दोलनका माग पूरा नहुने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा ‘नेपालमा वर्तमान राजनीतिक सन्दर्भ’ विषयमा आयोजित कार्यक्रममा उहाँले राज्य पुनःसंरचना आयोगले दिएका प्रतिवेदन तथा मधेसवादी, आदिवासी जनजाति मुसलमानसँग गरिएको सम्झौताका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने विषयमा जोड दिनुभयो । सत्ताइस पटक भन्दा बढी पटकसम्म वार्ता भइसक्दा पनि कुनै निष्कर्ष ननिस्केको प्रसङ्ग उल्लेख गर्दै उहाँले उधारोमा सहमति नगर्ने, आन्दोलन जारी राख्ने तर स्वरुप परिवर्तन गरिने जानकारी गराउनुभयो । विगतमा देखिएका भेदभाव अन्त्य तथा सबैको भाषा, संस्कृतिको पहिचानलाई सम्बोधन गरिएमा मुलुक बलियो हुने उल्लेख गर्दै उहाँले समावेशी लोकतन्त्र र पहिचानसहितको सङ्घीयता निर्माण हुनुपर्ने औँल्याउनुभयो । अध्यक्ष यादवले विगतमा भएका सम्झौतालाई टेकेर सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो ।