संविधानमा ध्यान दिँदा पार्टी भताभुंग बनेको प्रचण्डको स्वीकारोक्ति
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका कारण सङ्गठनमा ध्यान दिन नसक्दा पार्टीभित्र विभिन्नखालका समस्या आइपरेको स्वीकार गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा क्रान्तिकारी पत्रकार सङ्घको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माणबाट मुलुक एउटा दिशामा अगाडि बढेको र सबैखालका समस्या क्रमशः हल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । संविधानको पहिलो संशोधनपछि मधेस केन्द्रित दलले उठाएको केही विषय सम्बोधन भएको उल्लेख गर्दै उहाँले सीमा निर्धारणलगायतका विषय बाँकी रहेको भए पनि त्यसलाई उचित सम्बोधन गरिनेछ भन्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो–“सबै वर्ग तथा क्षेत्रको मागलाई उचित सम्बोधन गर्न एमाओवादी तयार छ । शनिबार भएको सहमति र संविधान संशोधन पनि आफूहरूकै पहलमा अगाडि बढेको हो । बाँकी रहेका विषय पनि विस्तारै सम्बोधन हुन्छ ।” भताभुङ भएको पार्टीलाई विस्तारै एकीकृत पारेर अगाडि लैजाने र आगामी दुई वर्षभित्र पुनः एक नम्बरको पार्टी बनाउने अभियानमा आफू लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “विस्तारै माओवाद मान्ने माओवादी घटकहरूबीच पार्टी एकता हुन्छ । त्यसको प्रक्रिया आरम्भ भएको छ ।” नयाँ शक्ति अभियान सञ्चालन गर्दै आउनुभएका एमाओवादीका पूर्वनेता डा बाबुराम भट्टराईप्रति लक्षित गर्दै उहाँले विचारविहीन संस्थाले मुलुक र जनताको हित गर्न नसक्ने बताउनुभयो । वर्तमान सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै उहाँले आफूले सो विषयमा प्रधानमन्त्री र आफ्नै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई समेत सचेत गराइसकेको जानकारी दिनुभयो । “जनताको पक्षमा प्रभावकारी काम हुनुपर्छ, जनताले महसुस गर्नेगरी कमसेकम केही न काम हुनुपर्छ । प्रधानमन्त्री ओलीलाई समेत ध्यानाकर्षण गराइएको छु”– अध्यक्ष दाहालले भन्नुभयो–“तर सरकारको विकल्प खोजेर मुलुकलाई थप सङ्कटमा लैजान हुँदैन भन्नेमा हामी स्पष्ट छौँ ।” भूकम्पपीडितलाई राहत, भारतको अघोषित नाकाबन्दीबाट आहात भएका जनतालाई राहत दिन सरकारले आफ्नो भूमिका बढाउनुपर्ने उहाँको कथन थियो । यसैबीच क्रान्तिकारी पत्रकार सङ्घको पहिलो अधिवेशनको मिति आगामी फागुन ७ र ८ गते काठमाडौँमा गर्ने तय भएको सङ्घका संयोजक गोविन्द आचार्यले जानकारी दिनुभयो । अभिवेशनका लागि विभिन्न समितिसमेत गठन गरिएको छ ।