नयाको क्रुज पार्टीमा रमाए दर्शक, संकलित रकम परोपकारी काममा


0U2A0079अष्ट्रेलियामा रहेका युवाहरुलाई एकताबद्ध गर्ने र उनीहरुबीच सिर्जनशिलताको विकास, परोपकारी भावनाको निर्माण र खेल मार्फत अनुशासित युवाशक्ति निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको नेप्लीज अष्ट्रेलियन युथ एशोसिएन नयाको आयोजनामा क्रुज पार्टी सम्पन्न भएको छ । करिब तीन सयभन्दा बढी सहभागी रहेको क्रुज पार्टीबाट संकलित रकम नेपालमा विभिन्न परोपकारी काममा खर्च गरिने भएको छ । मुख्यतः शिक्षा क्षेत्रमा जोड दिइएको नयाका अध्यक्ष कोमल पाठकले एमएनटीभीलाई जानकारी दिएका छन् । नयाको क्रुज पार्टीका संयोजक प्रकाश खरेलले यस किसिमको क्रुज पार्टी नयाले हरेक वर्ष गर्दै आएको र सहभागिताले उत्साही बनेको बताए । हरेक नयाँ वर्षको अवसरमा जनवरी महिनामा नयाले यस किसिमको क्रुज पार्टी आयोजना गर्दै आएको छ । करिब ४ घण्टा चलेको कार्यक्रमको क्रममा सिड्नीको हार्बर ब्रिज वरपर घुमाइएको थियो । सिड्नीको मनोरम दृश्यका साथै जहाजमा विभिन्न नेपाली गीत संगीतमा मनोरञ्जनात्मक प्रस्तुति सञ्चालन गरिएको थियो । लक्की ड्र मार्फत मेलबर्न रिटर्न टिकट, नगद पुरस्कार र आईप्याड लगायत अन्य पुरस्कार जित्ने अवसर पनि सहभागीले पाएका थिए । यस्तै बालबालिकाहरुको निम्ति छुट्टै ड्रको सञ्चालन गरिएको थियो भने हाजिरी जवाफको समेत सञ्चालन गरिएको थियो । हाजिरी जवाफको सञ्चालन प्रतिज्ञा अधिकारीले गरेकी थिइन् । नयाका बोर्ड निर्देशकमध्येका एक भुपाल सिटौलाले सिड्नीमात्र नभएर अष्ट्रेलियाको अन्य राज्यमा बस्ने नेपाली समूदायका सदस्यहरु पनि कार्यक्रममा सहभागी भएको जानकारी दिए । समूदायका सदस्यहरुबीच लामो समयसम्म भेट नहुने अवस्थामा यस्ता भेटघाटले नयाँ ऊर्जा दिएको र आफ्ना कुराहरु आनन्दपूर्वक सबैका सामू राख्ने वातावरण बनेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाका प्रवक्ता हिरा कँडेलले स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?